कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताए ।
अहिले दाल, फलाम, सिमेन्टलगायतका वस्तुहरुमा अत्यधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गरे ।
आफैं मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने बताए । निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महँगो बनाएको पनि मन्त्री भट्टले बताए ।
उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको जानकारी दिए । तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको स्पष्ट पारे ।