प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक शुरु


काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछिको पहिलो राष्ट्रिय बैठक सुरु भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभाको बैठक सुरु भएको हो।
सातौं अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुले सुरुमै मन्तव्य व्यक्त गर्नेछन् । प्रतिनिधिसभा विघटनपश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएकाले दलको प्रतिनिधित्व कसले गर्छ भन्ने चासो पनि छ । यद्यपि, विभाजित नेकपाका दुवै पक्षले संसदीय दलका नेता दिनानाथ शर्माले दलको प्रतिनिधित्व गर्ने बताएका छन्।
अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र केही अध्यादेशहरु पनि पहिलो बैठकका कार्यसूची छन् ।