ओलीको दाबी– पार्टी फुटेको छैन, केही व्यक्ति पद नपाएर सडकमा भाैंतारिएका हुन् (भिडियो) – Nepal Press

ओलीको दाबी– पार्टी फुटेको छैन, केही व्यक्ति पद नपाएर सडकमा भाैंतारिएका हुन् (भिडियो)

‘वैधानिक पार्टी हामीनै हौं, निवेदन बोकेर निर्वाचन आयोगमा जादैनौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र हुन पनि नदिने भन्दै केही व्यक्तिलाई आफूले रोकेर राख्न नसकेको बताएका छन् ।

प्रवासी नेपालीहरुसँगको भर्चुअल संवादमा ओलीले भने– पार्टी विभााजन भएको छैन । यो पार्टी विभाजन हुन दिइन्नँ । केही मान्छे मैले रोकेर राख्न सकिनँ। उनीहरुका जंगली महत्वाकांक्षालाई शान्त पार्न सकिनँ । केही मान्छे पद नपाएर सडकमा गएका हुन् । उनीहरुको पदको हतारो मैले सम्बोधन गर्न सकिनँ ।

ओलीले पार्टी विभाजन नभएको तर्क पुष्टि गर्न खोज्दै प्रथम अध्यक्षको हैसियतले बैठक बोलाएको र केही व्यक्ति बैठकमा नआएको बताए । महासचिव र अध्यक्षले बोलाएको बैठक नै आधिकारिक भएको भन्दै ओलीले अझै पनि प्रचण्ड–माधव नेपालहरु अर्को बैठकमा आउन सक्ने बताए ।

ओलीले भने– अहिले पनि पार्टीमा बैठकमा आउन सक्नुहुन्छ । फेरि बैठक बोलाउँछु, उहाँहरु आउनुस्, बसौं, छलफल गरौं, उहाँहरुको जस्तो प्रथम अध्यक्षलाई सदस्यबाट निकाल्यौं भन्ने जगहँसाइ हामी गर्दैनौं । हामीले कसैलाई हटाएका छैनौं ।

पार्टीको वैधानिकता विवादका सन्दर्भमा पनि ओलीले पहिलो पटक मुख खोलेका छन् । प्रवासी नेपालीहरुसँग कुरा गर्दै ओलीले पार्टीको वैधानिकता दाबी गर्दै निवेदन बोकेर आफूहरु निर्वाचन आयोग र अदालत नजाने बताएका छन् ।

ओलीले भने– कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ ।

ओलीले प्रचण्ड माधव पक्ष अभद्र र अशिष्ट भाषा र नारासहित सडकमा पुगेको भन्दै नारी अस्मितामाथि खेलबाड गरिरहेको आरोप लगाए । राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको बताए ।

ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको दाबी गरे ।

‘संविधान रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आयो’

ओलीले संविधान र प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । ‘संविधानको रक्षाका लागि, प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आयो,’ उनले भने, ‘यो संविधानको रक्षाका निम्ति हो, प्रणालीको रक्षाका लागि हो । उहाँहरु (प्रचण्ड–माधव)ले त्यसलाई असंवैधानिक भन्नुहुन्छ ।’

ओलीले विघटन भएको सांसदको हस्ताक्षरको कुरा गरेर प्रचण्ड–माधव पक्षले लोकतन्त्र र प्रणालीको मजाक उडाइरहेको समेत आरोप लगाए । ‘संसद विघटन भएपछि सांसदको हस्ताक्षर भन्नुहुन्छ’ उनको भनाइ छ, ‘संसद विघटन भएपछि सांसदको केही वैधानिकता हुँदैन । उहाँहरु लोकतन्त्र, प्रणालीको मजाक उडाइरहनुभएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर