सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने – Nepal Press

सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएको छ ।
चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका ६ खेल गुमाएको थियो ।

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनले प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

लामिछाने सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेका छन् । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेको हो । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर