संचालक पक्राउपछि भुक्तानी पाउन थाले ऊखु किसानले – Nepal Press

संचालक पक्राउपछि भुक्तानी पाउन थाले ऊखु किसानले

मालिक नआउँदै सबा करोड दिए कर्मचारीले

रुपन्देही । लामो समय ऊखु किसानको भुक्तानी रोकेर राखेको पश्चिमनवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेलगत्तै उखु किसानहरुलाई भुक्तानी दिन शुरु गरिएको छ । उद्योगले कुल ८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

खातामा पैसा भएर पनि किसानलाई विभिन्न बहानामा अग्रवालले पैसा रोकेको गुनासो बढ्दै गएको थियो । बिहीबार बीरगन्जमा संचालक अग्रवाल पक्राउ परेसंगै उद्योगका कर्मचारीले किसानलाई सम्पर्क गरेर भुक्तानी दिन थालेका हुन् । बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाएपनि किसानहरुलाई भने भुक्तानी दिइएको थिएन ।

उद्योगले जिल्लाका किसानहरुलाई ई सेवाबाट भुक्तानी दिन सुरु गरेको हो । बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितताबारे सोधपुछ गर्न वीरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताए ।

अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक बिजयकुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरेको बताए । हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिने र शुक्रबारसम्म बैंक ग्यारेण्टी मार्फत पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिने गुप्ताले बताए । भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने उनले बताए ।

उद्योगका सञ्चालक मनिष अग्रवालको निधन भएपछि अंशवण्डामा उक्त उद्योगको स्वामित्व मृतकका भाई मनोजले लिएका हुन् ।

त्यसैगरी इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल काठमाण्डौं रहेको र प्रहरीले निगरानी बढाई रहेको प्रजिअ पाठकले बताए । इन्दिराले ५ करोड भुक्तानी दिन बाँकी रहेको छ । उद्योगले ८० लाख रुपैयाँ खातामा जम्मा गरेको भएपनि किसानलाई दिइएको छैन । ठगी मुद्दा दर्ता भएकाले उनी पक्राउ परे लगत्तै कारबाही प्रकृया अघि बढाएर किसानको रकम तिर्न लगाउने प्रजिअ पाठकले बताए ।

जिल्लामा ३ चिनी उद्योग छन् । हाल बागमती चिनी उद्योग मात्र सञ्चालनमा छ ।
संचालक पक्राउ परेपछि भुक्तानी पाएका किसानले अरु संचालकलाई पनि यसैगरी कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *