नेपालमा नयाँ कोरोनाभाइरसको त्रास, ७ जनाकाे नमूना हङकङ पठाइँदै – Nepal Press

नेपालमा नयाँ कोरोनाभाइरसको त्रास, ७ जनाकाे नमूना हङकङ पठाइँदै

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति छ/छैन भन्ने पत्ता लगाउन बेलायतबाट आएका कोरोना पोजेटिभ देखिएका ७ जनाको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउने तयारी गरेको छ ।

पछिल्लो समय बेलायतमा ७० गुणा बढी संक्रामक भएको नयाँ स्वरुपको कोरोना बेलायतबाट नेपाल आएका ७ जनामा संक्रमण भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राकेश गुप्ताका अनुसार बेलायतबाट नेपाल आएका कोरोना पोजेटिभ देखिएका ७ जना व्यक्तिको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउन प्याकिङ गरिसकिएको र कुरियर गरेर पठाउन लागिएको जानकारी दिए ।

नेपालमा कोरोनाको पोजेटिभ, नेगेटिभ छुट्याउने प्रविधि मात्र छ तर त्यसको प्रजाति र परिवर्तित स्वरुप छुट्याउने जिन सिक्वेन्सिङ परीक्षणको व्यवस्था भने छैन । सरकारले पुस १ देखि ७ गतेसम्म बेलायत अथवा त्यहाँको बाटो हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । बेलायतबाट नेपाल आएसँगै उच्च ज्वरो आएका पाँच जनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पछिल्लो समय बेलायतमा ७० गुणा बढी संक्रामक भएको नयाँ स्वरुपको कोरोना बेलायतबाट नेपाल आएका ७ जनामा संक्रमण भएको आशंका गरिएको छ ।

बिहीबार बेलायतबाटै आएका थप दुई जनाको पनि पीसीआर पोजेटिभ देखिएपछि ७ जनाको नमूना जीन सिक्वेन्सिङका लागि हङकङ पठाउन लागिएको र छिट्टै नेपालमा नयाँ स्वरुपको भाइरस छ/छैन पत्ता लाग्ने र सरकारले नियन्त्रणको लागि त्यही अनुसारको रणनीति बनाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले नेपाल प्रेससँग बताउनुभयो ।

जिन सिक्वेन्सिङ गरेपछि चाइनाको वुहानबाट शुरू भएको कोरोनाको प्रजाति हो वा नयाँ स्वरुपको भन्ने पत्ता लाग्नेछ । नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिए संक्रमण बढ्ने खतरा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहर देखिंदा अधिकांश संक्रमितहरू विदेशबाट फर्किएका व्यक्ति थिए । नयाँ भाइरसको स्वरुप पनि विदेशबाटै यात्रा गरेर आउनेबाट भित्रिरहेको आशंका गरिएको छ ।

कोरोना संक्रमणको नयाँ स्वरुप फैलिन नदिन सरकारले बेलैमा रणनीति बनाउनुपर्ने भन्दै आम नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अझ राम्रोसँग पालन गर्नुपर्ने सुझाव डा. पुनको छ ।

१० महिनादेखि नेपालमा कोरोना संक्रमण रहिरहेको कारण भाइरसले स्वरुप परिवर्तन गरिसकेको आशंका पनि विशेषज्ञको छ । धेरै देशहरूले जिन परीक्षण गरिरहेका छन् । भारतमा समेत नयाँ स्वरुपको कोरोना संक्रमण देखिसकेको छ । तर नेपालमा हालसम्म जिन परीक्षण प्रविधि छैन ।

बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना ७० प्रतिशत संक्रामक भएकोले एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने चिकित्सकहरूले बताएका छन् । बेलायतको युनिभर्सिटी अफ हर्डस्फिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाका अनुसार जतिबेला चीनको वुहानबाट कोरोनाभाइरस संक्रमण शुरू भयो र विश्वभर फैलियो त्यहीबेलादेखि भाइरसको रूपान्तरण हुँदै गयो । भाइरस धेरै समय रहँदा रूप परिवर्तन हुने गर्छ ।

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहर देखिंदा अधिकांश संक्रमितहरू विदेशबाट फर्किएका व्यक्ति थिए । नयाँ भाइरसको स्वरुप पनि विदेशबाटै यात्रा गरेर आउनेबाट भित्रिरहेको आशंका गरिएको छ ।

अहिले बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस पनि कोरोनाकै अर्को रूप हो । यो बढी संक्रामक भएको कारण जनस्वास्थ्यका मापदण्ड अझ सही ढंगले अपनाउनुपर्छ । यद्यपि यो नयाँ स्वरुपको भाइरसलाई पनि अहिले निर्माण भएका खोपले काम गर्छ ।

कोरोनाविरुद्ध भर्खरै विकसित खोपको प्रभावलाई बेलायतमा देखिएको नयाँ भाइरसले कुनै असर पार्न नसक्ने अमेरिकन वैज्ञानिकहरूले यसअघि नै बताइसकेका छन् । बढी संक्रामक भए पनि बिरामीलाई सिकिस्त बनाउने दर पुरानो कोरोनामा जत्तिकै रहेको विज्ञहरू बताउँछन् ।

नयाँ स्वरुपको कोरोनाको लक्षण पनि पुरानोको जस्तै छ । तर छिटो सर्ने हुँदा यसको नयाँ स्वरुप खतरनाक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर