प्रचण्ड अराष्ट्रवादी भएको आरोप लगाउँदै बालकृष्ण ढुंगेल लागे ओलीतिर – Nepal Press

प्रचण्ड अराष्ट्रवादी भएको आरोप लगाउँदै बालकृष्ण ढुंगेल लागे ओलीतिर

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय भोगेर सरकारको सिफारिशमा बाँकी कैद मिनाहा पाएका तत्कालीन माओवादी जनयुद्धका एक योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।
ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् । उनी रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।
तत्काल माओवादीका लागि बालकृष्ण ढुंगेल असली योद्धा थिए । माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक भरपर्दा सहयोगी पनि ।
तर, आज तीनै ढुंगेलले प्रचण्डको साथ छाडेका छन् । नेपाल कम्युनिष्ट पार्टी  विभाजन भएपश्चात आफूले वर्षौंसम्म साथ दिएको प्रचण्डको साथ उनले छाडेका छन्।
प्रचण्डको साथ किन छाड्नुभयो भन्ने प्रश्नमा ढुंगेलले नेपाल प्रेससँग भने– उहाँले लिएको पछिल्लो जति पनि घटनाक्रम छन्, ती बेठिक, अवैज्ञानिक र अराष्ट्रवादी छन् त्यसैले मैले उहाँको साथ छाडेँ ।
प्रचण्डले चालेका कदमलाई उनले संक्षिप्तमा बेठीक, अवैज्ञानिक र अराष्ट्रवादी भनेर टिप्पणी गरेका छन् ।
ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।
ढुंगेलको विगत
२०५५ सालमा ओखलढुंगाको साबिक पोकली गाविसका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा उनी जेल परेर छुटेका हुन् । सोही अभियोगमा सजाय पाएका कारण उनले प्रतिनिधिसभाको निर्वाचन लड्न पाएनन् ।
ढुंगेलले उज्जन श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । उनले यदि युद्धकालका घटनामा कोही दोषी हुन्छ भने सबैभन्दा पहिले प्रचण्डलाई जेल हाल्नुपर्ने बताएका छन् । तलका कार्यकर्ताले मुद्दा झेल्ने र प्रचण्डहरु शासनमा रहने कुरा मेल नखाने उनको भनाइ छ ।
सर्वोच्च अदालतले सजाय सुनाए पनि उनलाई पक्राउ नगरेको भन्दै प्रहरीविरुद्ध नै अवहेलनाको रिट दायर भएपछि प्रहरीले उनलाई २०७४ कार्तिकमा पक्राउ गरेको थियो ।
अदालतको फैसला अनुसार उनी १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्थ्याे तर ‘असल चालचलन’ देखाएको भन्दै उनलाई त्यसअगावै छाडिएको थियो ।
ढुंगेललाई २०७५ को गणतन्त्र दिवसको अवसर पारेर माफी दिइएको थियो । ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई जेल मुक्त गरिएको थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित समेत भएका ढुंगेल जेलबाट छुटेपछि भने माओवादीमा खासै जिम्मेवारी पाएका थिएनन् ।
ओलीले पूर्व माओवादी सम्झिनुको अर्थ 
पार्टी विभाजनपछि पूर्व माओवादीका केही नेता ओली समूहमा लागेका छन् ।
पार्टीको उच्च नेतृत्वमै रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा,  प्रभु साह, कमल चौलागाईलगायतले प्रचण्डको साथ छाडेर ओलीतिर लागेका छन् । यसै मेसोमा ढुंगेल पनि ओली पक्षतिरै लागेका हुन् ।
ओलीले पछिल्लो समय प्रचण्डलाई लगातार माओवादी आन्दोलनमा लागेका धेरैलाई अलपत्र पारेको  आरोप लगाइरहेका छन् ।
बुधबार राजधानीमा आयोजित एउटा सभालाई सम्बोधन गर्ने क्रममा पनि उनले पूर्व माओवादीका कार्यकर्ताको केही नाम सम्झिएका थिए । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजधानीमा उपलब्ध सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले माओवादीको छापामार कमान्डर रहेका कालीबहादुर खामको नाम लिएका थिए । खाम प्रचण्डका विश्वास पात्र समेत मानिन्थे । खामलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त मानिन्छ । आफ्नो सम्बोधनका क्रममा ओलीले माओवादीका अन्य नेता र कार्यकर्ताको पनि नाम लिएका थिए ।
ओलीले पूर्व माओवादीका नेता कार्यकर्ताप्रति सहानुभूति जनाउनुको अर्थ प्रचण्ड पक्षका नेता/कार्यकर्तालाई आफूतिर तान्ने रहेको रुपमा पनि कतिपयले अर्थ्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर