जब खुश्चेवले वीपी कोइरालासँग ऋषिकेशको पोल लगाए – Nepal Press
इतिहास

जब खुश्चेवले वीपी कोइरालासँग ऋषिकेशको पोल लगाए

यस्ता थिए नेपाल सोभियत संघ तनावका चार किस्ता

इटहरी । आजकै दिन ९८ वर्ष अगाडि सन् १९२२ डिसेम्बर ३० मा स्थापना भएको सोभियत संघ डिसेम्बर महिनामै ढलेको थियो । २९ वर्ष अगाडि सन् १९९१ को डिसेम्बर २६ मा ढलेको सोभियत संघ सात दशकसम्म विश्व मानचित्रमा शक्तिशाली मुलुकको रूपमा रह्यो ।

विभिन्न पन्ध्र गणतन्त्रहरूको गठजोड सोभियत संघमा अहिलेको रसिया बाहेक अन्य चौध मुलुकहरू थिए । युक्रेन, जर्जिया, बेलारुस, उज्वेकिस्तान, आर्मेनिया, अजरबैजान, कजाकिस्तान, किर्गिस्तान, मोल्दोबा, तुर्कमिनिस्तान, ताजिकिस्तान, ल्यातभिया, लिथुआनिया र इस्टोनिया जस्ता गणतन्त्रहरू थिए सोभियत संघमा ।

जबजब नेपालमा सोभियत संघको कुरा आउँछ धेरैलाई सोभियत संघको सकारात्मक मात्रै सम्झना आउँछ । पूर्व–पश्चिम राजमार्गको सर्भे गर्ने, हजारौं नेपालीलाई रसिया पढ्न छात्रवृत्ति दिने मुलुकको रूपमा सोभियत संघ नेपाली मानसपटलमा चित्रित छ ।

नेपालमा सरकारको स्वामित्वमा खुलेका वीरगंज चिनी कारखाना, कृषिऔजार कारखानादेखि जनकपुर चुरोट कारखानामा सोभियत संघकै सहयोग थियो । यस्तै, कान्ति बाल अस्पताल, पनौती हाइड्रोपावर, पथलैया–ढल्केबर राजमार्ग निर्माणमा सोभियत संघको महत्वपूर्ण भूमिका छ । नेपालका वामपन्थीहरूको श्रीवृद्धिमा त सोभियत संघ छुट्टिने कुरै हुँदैन ।

सोभियत संघसँग सहयोगका सुन्दर किस्ता मात्रै छैनन् नेपालका, समस्याहरू पनि थिए । यहाँ सोभियत संघसँग जोडिएका चार समस्याको बुँदागत चर्चा गरौं ।

१. जयपृथ्वीबहादुर सिंहलाई निषेध

नेपालका मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंहलाई सोभियत संघले प्रवेश निषेध गरेको थियो । सन् १९२९ को मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपका विभिन्न देशहरूमा मानवतावादको प्रवचन दिंदै हिंडेका जयपृथ्वीबहादुर सिंहलाई सोभियत संघले निषेध गर्यो । सन् १९२७ को जून ३ तारिखका दिन पोल्यान्डको राजधानी वार्सामा रहेको सोभियत संघको राजदूतावासले जयपृथ्वीलाई भिसा नै दिएन ।

सोभियत संघ जाने अनुमति नदिएपछि त्यहाँका नागरिकको नाममा पत्र लेखे जयपृथ्वीबहादुरले । जहाँ लेखिएको थियो, ‘मजदूरवर्गको सुख–शान्तिमा अग्रदूत मानिएको राष्ट्रमा शान्ति, उन्नति र प्रगतिको लागि के–कस्तो कारबाही गरी समस्या समाधानका उपाय पत्ता लगाइएका छन् भन्नेबारे जान्ने उत्सुकता र शान्तिका समस्या बारेमा आफ्ना विचारबारे प्रकाश पार्न मस्को भ्रमणका लागि मैले रूस सरकारसँग अनुमति मागेको थिएँ तर, आश्चर्यको कुरा मलाई त्यो सौभाग्यबाट वञ्चित गरियो । त्यहाँ मेरो बारेमा केही भ्रम हुन गएको जस्तो देखिन्छ ।’ सिंहको पुस्तक ‘शान्तिका उपाय’ मा यसको चर्चा गरिएको छ ।

२. संयुक्त राष्ट्रसंघमा नेपालको सदस्यताविरुद्ध भिटो

अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर पुत्र मेजर जनरलले नेपालको तर्फबाट सन् १९४९ को जुलाई २२ मा २७ पृष्ठको पत्र लेखेर संयुक्त राष्ट्रसंघको सदस्य बन्ने प्रक्रियामा गएका थिए । तत्कालीन नेपालको परराष्ट्र विभागका महानिर्देशक राणाको पत्र पठाएको दुई महिनापछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भएको थियो ।

सन् १९४९ को सेप्टेम्बर ७ मा भएको छलफलमा सोभियत संघले नेपालको प्रस्तावमा भिटो प्रयोग गरेर असफल बनायो । सेप्टेम्बर ८ मा दि न्यू योर्क टाइम्स मा उक्त विषयमा समाचार समेत छापिएको थियो । एएम रोजेन्थालले लेखेको समाचारको शीर्षक थियो, ‘संयुक्त राष्ट्रसंघमा रसियाको ३१औं भिटोले नेपाल वञ्चित’ ।

३. खु्रश्चेव र ऋषिकेश शाहको भनाभन

सोभियत संघसँगको नेपालजन्य सकस संयुक्त राष्ट्रसंघमा प्रयोग भएको भिटोमै मात्रै सीमित थिएन । तत्कालीन सोभियत संघ अध्यक्ष ख्रुश्चेवसँग संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ऋषिकेश शाहको भनाभन भएको थियो । यो संयुक्त राष्ट्रसंघको पन्ध्रौं साधारणसभा हुँदा सन् १९६० अक्टोबरको कुरा हो ।

ऋषिकेश शाहले तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डलाई समर्थन गरेको भन्दै ख्रुश्चेव क्रूद्ध थिए । उनले बीपी कोइरालालाई समेत पोल लगाउँदै भने, ‘तपाइँको प्रतिनिधि यहाँ लामो समय बसेकाले उनी अमेरिका, ब्रिटिश र फ्रेन्च जस्ता लुटेरा सरकारहरूको प्रभावमा परेका छन् । यिनी ड्याग ह्यामरसोल्डको समर्थन गर्छन् जसले आफूलाई पश्चिमी शक्तिको एजेन्टको रूपमा नङ्ग्याइसकेका छन् ।’

जवाफमा ख्रुश्चेवलाई गिल्ला गर्दै शाहले भने, ‘अध्यक्षज्यूले मेरो प्रधानमन्त्रीसामु यस्तो कुरा गरिदिंदा मेरो जागिर जान सक्छ ।’ संयुक्त राष्ट्रसंघ मुख्यालयको पार्क एभेन्युस्थित सोभियत संघको स्थायी कार्यालयमा भएको शिष्टाचार भेटमा भएको तनावका साक्षी थिए बीपी कोइराला ।

उनले दुवैको भनाभन सुनेपछि शाहकै समर्थनमा बोले । उनले भने, ‘महासभाका बैठकहरूमा श्री शाहले जे जति कामकुरा गरेका छन् ती सबै उनले मेरो सरकारको आदेश पालना गर्ने सिलसिलामा गरेका हुन् ।’ ऋषिकेश शाहको अंग्रेजी भाषाको आत्मकथा ‘लुकिङ ब्याक एट माउ ओन करियर’ र नेपाली भाषाको आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ मा यी कुरा उल्लेख गरेका छन् ।

४. नेपालको ‘शान्ति क्षेत्र’ प्रस्तावमा असहयोग

पंचायतकालमा राजा वीरेन्द्रले नेपाललाई ‘शान्ति क्षेत्र’को घोषणा हुनुपर्ने प्रस्ताव गरे । प्रस्तावमा अमेरिका, चीन, बेलायत, फ्रान्सलगायत विश्वका ११६ देशले लिखित समर्थन गरे । १३ देशले मौखिक समर्थन गरे । तर, सोभियत संघले असहयोग गर्यो ।

सन् १९७५ को फेब्रुअरी २५ मा आफ्नो राज्याभिषेकमा आएका विदेशी पाहुनाहरूसमक्ष पहिलोपटक वीरेन्द्रले उक्त प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए ।

सोभियत संघका नेपालस्थित राजदूत केबी उदुमयनले सन् १९७५ को जुलाइ २० मा उक्त प्रस्तावको समर्थन गरेका थिए । तर, पछि सोभियत संघले औपचारिक समर्थन भने गरेन । सन् १९७६ मा सोभियत संघको भ्रमणमा गएका वीरेन्द्रले लबिङ गर्दा समेत सोभियत संघले शान्ति क्षेत्र प्रस्तावमा समर्थन गरेन ।

कतिपय आलोचकहरू तत्कालीन भारतसँग अत्यन्तै निकट सम्बन्ध भएको सोभियत संघले भारतकै इशारामा समर्थन नगरेको बताउँछन् । भारतले पनि नेपालको शान्ति क्षेत्र प्रस्तावमा औपचारिक समर्थन गरेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ