लगानी र सहयोग हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्नेछु: राजदूत खतिवडा – Nepal Press

लगानी र सहयोग हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्नेछु: राजदूत खतिवडा

काठमाडौं । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्व अर्थमन्त्री समेत रहेका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् । नेपालको कुनै पनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे ।

आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए। तर कुनै पनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिबद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट पारे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन हुने वस्तुलाई अमेरिका निर्यात गर्ने वातावरण निर्माण गर्न आग्रह गरे । अहिले अमेरिकाले नेपालबाट ७७ किसिमका वस्तुहरु लैजाने भन्ने रहेको तर ती वस्तुहरु नेपालमा उत्पादन नहुने भएकाले निर्यात नबढेको बताए । नेपालको गार्मेन्ट उत्पादनलाई अमेरिकी बजारमा लैजान सके राम्रो हुने भएकाले त्यसमा पहल गर्न समेत आग्रह गरे ।

कार्यक्रममा व्यवसायीहरुले अमेरिकी लगानीसँगै प्रविधिलाई समेत नेपालमा भित्र्याउन पहल गर्न आग्रह गरेका छन् । नेपालको कृषि उत्पादनलाई गुणस्तरीय बनाई निर्यात बढाउन आवश्यक प्रविधि भित्र्याउने विषमा ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर