प्रचण्ड–माधव पक्षको भ्रम चिर्न रुपन्देहीमा ओली पक्षको निर्देशन – Nepal Press

प्रचण्ड–माधव पक्षको भ्रम चिर्न रुपन्देहीमा ओली पक्षको निर्देशन

बुटवल । रुपन्देहीका केपी ओली नेतृत्वमा रहेका नेकपा नेताहरुले प्रचण्ड–माधव नेपाल पक्षको भ्रमबाट जनता र कार्यकर्तालाई मुक्त गर्न अभियान थाल्ने भएका छन् ।

सरकारले गरेका काम, प्रयास गरेका योजना, अवरोध भएका फेहरिस्त र संसदमा बन्धक बनाइएका जरुरी महत्वका विषयहरुको सूचि बनाएर जनतामा प्रष्ट पार्न उनीहरुले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनीहरुले अरु (प्रचण्ड–माधव) पक्षले जतिसुकै तुच्छ, अस्लिल र अमर्यादित गालीगलौजमा उत्रिएपनि सोही प्रवृत्तिले प्रतिवादन नगरि संयमित रहन निर्देशन दिए । यो कामका लागि अगुवा स्तरका कार्यकर्ताहरुलाई समुदाय स्तरमा खटाउने ओली पक्षका यहाँका नेताहरुको तयारी छ ।

रुपन्देहीका १६ वटै पालिकाहरुमा विस्तारित बैठक बस्दै रणनीतिक योजना बनाउने काम भइहरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाइँले बताए । उनले प्रारम्भमा बैठक बस्ने, हालसम्म भएका कामको सूचि बनाउने र जनस्तरमा प्रष्ट पार्न अगुवा कार्यकर्ता भेला गर्नेलगायतका विषयमा छलफल भएको बताए ।

सोही क्रममा मंगलबार नेकपाको बुटवल उपमहानगर कमिटीको विस्तारिक बैठक बसेको छ । उक्त बैठकमा सहभागी पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका नेताहरुले भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्ने गरि योजना बनाइरहेको बताएका थिए ।
बैठकमा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज एवम् लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरीले गलत काम नगर्न र अरुले गर्ने गलत कामलाई पनि अब सहेर बस्न नहुने बताए ।

उनले अहिले पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामका बारेमा भन्दा विपक्षीले लगाएका भ्रामक आरोपका आधारमा धारणा बनाएर विरोध भइरहेको भन्दै त्यसैलाई चिरेर सत्य स्थापित गर्न अगुवा कार्यकर्तालाई आग्रह गरे ।

लुम्बिनी प्रदेश सभाका संसदीय समितिका सभाति भोजप्रसाद श्रेष्ठले सत्तास्वार्थ, भागबण्डा र तिकडम सफल हुन नसकेपछि पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएर अहिले सडकमा तमासा देखाउने काम भइरहेको बताए ।

१९ गते अगुवा कार्यकर्ता भेला

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले यही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजन गर्ने भएको छ ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । उक्त अगुवा भेलामा नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर