उखु किसान नारायणरायले बक्यौता रकम लिन नपाउँदै प्राण त्यागे – Nepal Press

उखु किसान नारायणरायले बक्यौता रकम लिन नपाउँदै प्राण त्यागे

उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने

काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ ।

सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।

सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कूल बक्यौता  ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको  १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताए । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौंको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए ।

यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।

३३ करोड बक्यौता भुक्तानी

उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् ।

उनका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड भुक्तानी गरिसकेका छन् ।

सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको  ३५ करोड, लुम्बिनी सुगर मिलको  आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको  सत्र करोड बक्यौता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर