‘पुस्तक पढेपछि थुप्रै भ्रम मेटिन्छ’ – Nepal Press
लिट्रेचर फेस्टिभल

‘पुस्तक पढेपछि थुप्रै भ्रम मेटिन्छ’

काठमाडौंं । इटहरीका युवा लेखक विकेश कविनले सानो छँदा बालसाहित्य पढ्न रुचाउँथे । विस्तारै अन्य क्षेत्रबारे पनि बुझ्नु पर्छ भन्ने लाग्यो । त्यसपछि उनमा पठनको विस्तार भयो । अध्ययनको रफ्तार बढ्दै गएपछि विकेशलाई लाग्यो– हामी थुप्रै भ्रमसाथ बाँचिरहेका हुन्छौं । ती भ्रम र संकीर्णताबाट बाहिर आउँन पठन आवश्यक रहेछ ।

आइएमई लिट्रेचर फेस्टिभलको ‘पढ्ने पढाउने हुटहुटी’ नामक सेसनमा उनले आफ्नो पठन अनुभवबारे सुनाइरहेका थिए । वक्तामा विकेशसँगै फरक परिवेश र फरक पृष्ठभूमिका काठमाडौंकी मानुश्री महत र कपिलवस्तुका हरि खनाल पनि सहभागी थिए । प्रस्तोता थिइन् पत्रकार स्वेच्छा राउत ।

विकेशलाई जस्तै स्वेच्छाले मानुश्रीलाई पनि पठन अनुभवबारे सोधिन् । मानुश्रीले सुरु सुरुमा पढ्नको लागि प्रशस्त पुस्तकहरू हुने गरेको अनुभव साटिन् । जब पठन यात्रा अघि बढ्दै गयो, त्यसपछि आफूले खोजेको पुस्तक पाउन उनलाई कठिन हुँदै गयो । विस्तारै आफ्नो रुचिका विषयका पुस्तक पढ्दै जाँदा पुस्तकको खोजी गनुपर्ने अनुभव उनको थियो । पढ्ने बानीको विकास भएपछि धेरै नयाँ कुरा सिकिने उनलाई अनुभूति भयो ।

कपिलवस्तुका हरि खनालसँग भने पढ्नुको मात्र हैन, पढाउनुको पनि फरक अनुभव छ । अध्ययनमा निकै रमाउने हरि राष्ट्रिय पुस्तकालयको सुरुवात गर्दै कारागारमा पठन संस्कृतिको विकास गराउने अभियानमा छन् । उनी आफ्ूले अध्ययनमार्फत् जीवनबाट उठाइहेको आनन्द अरूलाई पनि बाँड्न चाहन्छन् । ज्ञान अरूलाई दियो भने त्यो जीवन्त हुने उनको बुझाइ छ ।

युवामा पठनको विस्तार

विकेश राम्रो लेखक हुन राम्रो पाठक हुन जरुरत रहेको बताँछन् । किताब पढ्दैमा पठन पूरा हुन्न भन्ने उनको बुझाइ छ । ‘किताब पढ्दैमा पठन सकिने भ्रम हो । पठन आफैंमा बृहत् हैन,’ उनी भन्छन् । पठनले ज्ञान र शब्दभण्डार बृहत बनाउने विकेशको बुझाइ छ ।

आफ्नो पठनलाई विस्तार गर्न उनले विभिन्न भाषाहरूका लेख र पुस्तकहरू पढ्ने गरेको सुनाए । आफूमात्र नभई अन्य साथीलाई पनि पढाउनुपर्छ भनेर विकेशले ‘साहित्यिक पाइलाहरू’ नामक पेजबाट ४ वर्षअघि साहित्यिक र पठननीय सामग्री सेयर गर्न थाले । अहिले उनको पेजबाट सेयर भएका सामग्री पढ्नेहरू बढ्दै गइरहेका छन् ।

मानुश्रीले आफूले पढेको कुरा साथीहरूलाई सेयर गर्ने र पढ्नलाई अभिप्रेरित गरिरहेकी हुन्छिन् । उनी नपढ्ने साथीलाई पनि आफूले पढेको स्टोरी सेयर गरेर पढ्न उक्साउने गरेको बताउँछिन् ।

अभियन्ताकै रुपमा चिनिएका हरि भने कारागारमा रहेका कैदीबन्दीलाई पढाउन पुस्तकालय अभियान चलाइरहेका छन् । उनी भन्छन्, ‘कारागार भनेको समाजभन्दा बाहिरको हिस्सा हैन । कुरुपतालाई लुकाउन कारागार बनाएको हो । हामीले त्यसैमा प्रहार गरिरहेका छौं ।’

यसरी उनीहरूलाई पनि पढाउन सके समाजमा असल कर्महरू हुने उनको आशय थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *