माधव नेपालले भने– ओलीको आयु पुग्यो – Nepal Press

माधव नेपालले भने– ओलीको आयु पुग्यो

‘केपी ओली कामचलाउ प्रधानमन्त्री हुन्’

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको आयु पुगेको बताएका छन् । आज संसद विघटनविरुद्धको सभालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– निरंकुश बाटो समातेका केपी ओलीको आयु पुग्यो ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको पहिलो चरणमा भृकुटीमण्डमा मंगलबार आयोजित विरोधसभामा बोल्दै नेपालले भने– निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धियो अब । विगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने– बयलगाडा चढेर वासिङ्टन पुग्न सकिंदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।

ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए । निकै आक्रामक ढंगमा प्रस्तुत भएका नेता नेपालले भने– केपी प्रवृत्तिको नास हुँदैछ, अब हामीले मुक्ति पाउँछौं ।

ओलीलाई संसद विघटन गर्नुको औचित्य पुष्टि गर्न चुनौती दिंदै उनले पार्टीमा विवाद निम्त्याउन नै ओलीले अनेक हर्कत गरेको आरोप लगाए । ओली अझै सुध्रने आश गरेको भन्दै उनले भने– अझै सुध्रिने आशा गरेर अनुशासनको कारबाही गरेका छौं । केन्द्रीय सदस्य पद बाँकी नै छ । माफी मागेर आउनुहुन्छ भने हामी स्वीकार्छौं । भीरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन ।

नेपालले प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भइसकेको बताएका छन् । संविधानमा लेखेको व्यवस्था विपरीत ओलीले अझै पनि पद बाँडेर विभिन्न व्यक्तिलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । अहिलेसम्म प्रतिनिधिसभा भंग भएको कुरा स्वीकार नगरेका नेता नेपालले विरोधसभामा बोल्दै अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने ठोकुवा गरे ।

नेपालले भने–प्रतिनिधिसभा भंग भइसकेपछि त्यो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहन्छ ? हाम्रो संविधानमा लेखेको व्यवस्था अनुसार प्रतिनिधिसभा भंग भइसकेपछि प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । त्यो कामचलाउ मात्रै हुन्छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर