नेपाली चियाले पायो अहिलेसम्मकै उच्च मूल्य – Nepal Press

नेपाली चियाले पायो अहिलेसम्मकै उच्च मूल्य

कफी उत्पादन न्यून

काठमाडौं । कोरोना महामारीले नेपालको सम्पूर्ण व्यावसायिक क्षेत्र प्रभावित भइरहेको बेला नेपाली चियाले भने अहिलेसम्मकै उच्च मूल्य पाएको छ । गत फागुनमा कोरोनाका कारण लकडाउन भएपछि चिया किसानले चैत/वैशाखमा ‘पहिलो टिपाइ’ टिप्न पाएनन् । जसका कारण किसानले चिया नष्ट समेत गर्नु पर्यो ।

तर, वैशाखदेखि पुनः चिया बगान र उद्योगहरू खुलेसँगै नेपाली चियाले भारतीय बजारमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको राष्ट्रिय चिया, कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।

उनका अनुसार कोरोनाभाइरसका कारण भारतका चिया बगान तथा उद्योग बन्द हुँदा नेपाली चियाले उच्च मूल्य लिन सफल भयो । विगतका वर्षमा चियाको हरियो पत्ती प्रति केजी १२ देखि १३ रुपैयाँ मात्र रहेको थियो । तर, यो वर्ष हरियो पत्ती नै ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री हुन पुग्यो ।

त्यस्तै, तयारी चिया भारतमा प्रतिकेजी ६०० भारुसम्ममा बिक्री भएको छ । जुन विगत वर्षमा नेपाली चिया उद्योगीले प्रतिकेजी २०० देखि ३०० रुपैयाँमा बेच्ने गरेका थिए ।

‘यो वर्षको चियाको मूल्य अहिलैसम्मको उच्च हो । भारतीय बजारमा चियाको उत्पादनमा कमी आउँदा नेपाली चिया उच्च मूल्यले बिक्री भयो’, निर्देशक खनालले भने ।

चियाको मूल्य उच्च भएपछि यो वर्ष चिया उद्योगहरूमा चियाको ‘स्टक’ कम भएको बताउँछन् केन्द्रीय चिया सहकारी संस्थाका अध्यक्ष गोविन्द दाहाल । ‘विगतका वर्षमा जस्तो यो वर्ष चियाको स्टक नेपाली चिया उद्योगमा छैन । किसानले उच्च मूल्यमा चियाको पत्ती तथा तयारी चिया बेचिसकेका छन्’, उनले भने ।

नेपाली चियाको पहिलो बजार भारत रहेको छ । भारतबाहेक तेस्रो मुलुकमा पनि नेपाली चिया पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । नेपाली चिया विश्वबजारमा उच्च मागका साथै उच्च मूल्यमा बिक्री हुने अध्यक्ष दाहाल बताउँछन् । नेपाली चियाको माग विश्वभर भइरहेका बेला चियालाई ‘भ्यालू एड’ हुने गरी बिक्री गर्नुपर्ने उनको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार लकडाउनको बीचमा पनि आर्थिक वर्ष २०७७/७८ मा ७९ लाख ९० हजार ५७५ केजी नेपाली चिया विश्वका विभिन्न देशमा पुगेको छ । जसमा भारतमा मात्र ७७ लाख ५४ हजार ४६७ केजी चिया निर्यात भएको छ । यो आवमा २ अर्ब ५५ करोड ९७ लाख ९० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।

गत आव २०७६/७७ को सोही पाँच महिनामा नेपालबाट ५७ लाख ६६ हजार ७६३ केजी चिया विभिन्न मुलुकमा निर्यात भएको थियो । जसमा भारतमा मात्र ५५ लाख ८७ हजार ८०६ केजी चिया निर्यात भएको थियो । सो आवमा नेपालले चिया निर्यात गरेर १ अर्ब ४५ करोड २ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेपालमा कफीको माग पछिल्लो समय धेरै भए पनि यसको उत्पादन भने न्यून रहेको नेपाल चिया/कफी बोर्डले जानकारी दिएको छ । नेपालमा कफी निर्यातको तुलनामा आयात दोब्बरले बढी छ । आर्थिक वर्ष २०७४/७५ मा ८४ हजार केजी कफी नेपालले विभिन्न देशमा निर्यात गरेको छ भने १ लाख ६३ हजार ३७७ केजी कफी आयात भएको तथ्याङ्कले देखाउँछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *