अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण माग – Nepal Press
पदेश १

अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशनसहितको पत्र पठाएका हुन् ।

संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्ताव पेश गरेका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारील बताए ।

अविश्वास प्रस्ताव संसदीय दलको विधानविपरी भन्दै फिर्ता लिएर स्पष्टीकरण नदिए राजनीतिक दल सम्बन्धी कानुन बमोजिम कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

सोधिएको स्पष्टिकरणपत्रमा भनिएको छ– नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क, ख, ग, च, छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१०, २०, ४० र ५० बमोजिम तपाईलाई कारबाही किन नगर्ने ?

पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न दलका नेताको निर्देशन बमोजिम पेश गर्न निर्देश गरिएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ– अन्यथा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानुन र दलको बिधानबमोजिम कारबाही भई जाने ब्यहोरा अवगत गराउँदछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर