कम्युनिष्टहरु जनता र लोकतन्त्रका पक्षमा छैनन : नेता खाँण – Nepal Press

कम्युनिष्टहरु जनता र लोकतन्त्रका पक्षमा छैनन : नेता खाँण

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता खाँणले संविधानको मर्म र लोकतन्त्रको मान्यताविपरीत प्रतिनिधिसभा भंग गरिएको आरोप लगाए ।

‘जनताको बलिदानबाट प्राप्त उपलब्धी संकटमा पार्नेगरी प्रधानमन्त्री र राष्ट्रपतिबाट काम भयो । कम्युनिष्टहरु लोकतन्त्र र जनताका पक्षमा हुँदैनन् भन्ने यो भन्दा ठूलो उदाहरण के हुन सक्छ ?’, खाँणले प्रश्न गरे । उनले संविधान र लोकतन्त्र नमान्ने कोहीपनि सुरक्षित नरहेको भन्दै नेपालका कम्युनिष्टको पनि पतन निश्चित भएको दावी गरे ।

कार्यक्रममा महासमिति सदस्य युवराज गिरि, जिल्ला उपसभापति फणीन्द्र शर्मा, महाधिवेसन प्रतिनिधि बालकुमारी भण्डारी, कांग्रेस नगर सभापति खेलराज पाण्डे, नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, तरुण दलका जिल्ला सचिव रमेश शाही लगायतले बोल्दै वर्तमान सरकार संविधान मिचेर अघि बढेको बताएका थिए ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको सभामा अधिवक्ता महेन्द्र पाण्डेले संविधानका बुँदाबारे जानकारी दिएर सरकारले गैरसंवैधानिक काम गरिरहेको उल्लेख गरेका थिए । त्यसअघि बुटवलको अस्पताललाइनबाट सुरु भएको  र्‍याली अमरपथ हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर