आकर्षक पर्यटकीय गन्तव्यः कुपिण्डे (फोटो फिचर) – Nepal Press

आकर्षक पर्यटकीय गन्तव्यः कुपिण्डे (फोटो फिचर)

सुर्खेत । कर्णालीलाई ‘भर्जिन प्रदेश’ पनि भन्ने गरिन्छ । भौगोलिक विकटता तथा मनोरम पर्यटकीय क्षेत्रको धनी कर्णाली प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत विस्तारै बढ्दै छ । धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको धनी प्रदेशको रूपमा रहेको कर्णालीमा रारा, शे–फोक्सुण्डो जस्ता धेरै तालतलैया छन् ।

पर्याप्त प्रचारप्रसारको अभाव तथा राज्यको समुचित ध्यान पुग्न नसकेकोले यी पर्यटकीय क्षेत्रहरूको विकास गर्न पछिल्लो समयमा स्थानीय तथा प्रादेशिक सरकारहरूले प्रचारप्रसार गर्ने, पहुँच मार्गहरू पुर्याउने तथा अन्य संरचनाहरू निर्माण गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

नेपालकै सबैभन्दा ठूलो रारा तालमा जाने पर्यटकहरूको घुइँचो बढिरहेको छ । रारापछिको दोस्रो तालको रूपमा रहेको शे–फोक्सुण्डो तालमा विदेशी पर्यटकहरू निरन्तर जाने गर्छन् । अहिले वीरेन्द्रनगरबाट बढीमा साढे दुई घण्टाको मोटर यात्रामा पुग्न सकिने आकर्षक गन्तव्य सल्यानको कुपिण्डे दह (ताल) मा पनि आन्तरिक पर्यटकहरू ओइरिन थालेका छन् । लकडाउनका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई प्रोत्साहन दिने गरी कुपिण्डे दहमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरू रमाइलो गर्न र वनभोजका लागि पुग्ने गरेका हुन् ।

३४ मिटर गहिरो कुपिण्डे दहको अहिलेसम्म वैज्ञानिक रूपमा नाप–जाँच भने गरिएको छैन । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको कुपिण्डे दहको लम्बाइ ८३४ मिटर र चौडाइ ५३८ मिटर रहेको छ । कुपिण्डे दह समुद्री सतहदेखि ११२० मिटर उँचाइमा रहेको छ ।

सल्यानको तत्कालीन सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजीपिपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर छ । यो दहले वर्षमा तीन पटक बर्खा, हिउँद र गर्मी महीनामा पानीको रङ बदल्ने गरेको स्थानीयहरू बताउँछन् ।

हरियाली, सुन्दरबस्ती र सल्यानी संस्कृतिको जनजीवनले जो–कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसूस हुन्छ । त्यहाँ पुग्ने वित्तिकै पर्यटकले सबै दुःखकष्ट भुलेको महसूस गर्न पाउँछन् ।

दहको किनारमा बराहको मन्दिर छ । पत्रकार दीपक बुढाका अनुसार यो मन्दिरमा इच्छाइएको बर मागे प्राप्त हुने किंवदन्ती छ । बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटबाट हिन्दू धर्मावलम्बीहरू पुग्छन् ।

२२ वटा डुंगामा झण्डा हल्लाउँदै सयर

पंक्तिकारसहित मंसीर तेस्रो साता कुपिण्डे दहको भ्रमण अवलोकनका लागि सुर्खेत, दैलेख र बाँकेका पत्रकार पुगे । वरिपरि डाँडा र बीचमा गहिरो खाल्डो अनि त्यसैमा नीलो जमेको पानी; अर्थात् स्वच्छ आकाश जस्तै देखिने कुपिण्डे दहले मनै लोभ्यायो । अझ भनौं, त्यहाँको कञ्चन पानीले उनीहरू सबैको मुहारमा चमक ल्याइदियो । हामीले १५० रुपैयाँको टिकट खरिद गरेर डुंगामा एक फन्को लगायौं । पत्रकार वीरबहादुर गिरी भन्छन्, ‘शुरूमा डराए पनि विस्तारै आनन्द लियौं । स्वर्गमा पुगेको अनुभूति भयो ।’

अर्का पत्रकार सूर्य कँडेल पनि कुपिण्डे दहमा एक पटक मात्र होइन बारम्बार जानुपर्ने बताउँछन् । यहाँ एक पटक आएर मात्रै धीत नमर्ने रहेछ । उनले भने, ‘आन्तरिक पर्यटनको विकास गर्ने सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’

चौडा बाटो बन्दै

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले केही समयअघि मात्रै दहसम्म जाने बाटो कालोपत्रे गर्न शिलान्यास समेत गरेका छन् । निर्माण कम्पनीले अहिले बाटो फराकिलो बनाउँदैछ भने १८ करोडको लागतमा कालोपत्रेको काम शुरू हुने तरखरमा छ ।

पहिले बाटो असाध्यै साँघुरो थियो । स्थानीय कमल पोखरेल भन्छन्, ‘अहिले बाटो असाध्यै राम्रो भएको छ । कालोपत्रे भइसकेको खण्डमा बढीमा २० मिनेटमा यहाँबाट दह पुग्न सकिन्छ ।’

यहाँ २२ वटा काठका डुंगाहरू रहेका छन् । दहको फन्को लगाउन आधा घण्टा लाग्ने गरेको छ । दहमा रु.५०, १०० र १५० गरी तीन थरीका टिकट काटेर डुंगामा सयर गर्न सकिन्छ ।

यसरी बन्यो दह

किंवदन्ती अनुसार, कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । एक दिन एक जना साधु बासको खोजीमा गाउँ आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनछन् । निरासहुँदै एकजना वृद्धको घरमा पुगेछन् । आफू बासका लागि आएको कुरा वृद्धलाई सुनाएछन् ।

घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केही प्रबन्ध हुन नसक्ने बताए पनि साधुले त्यही घरमा बस्ने अनुमति मागेछन् । वृद्धको गरीबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन्– म कैलुबराह हुँ । अरूलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमै डुबाइदिन्छु ।

अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन्, ‘त्यो पहाडसम्म जाऊ । हिंड्दा पछि फर्किएर नहेर्नू ।’ महिला पहाडतर्फ लागिन् । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह बन्न पुगेछ ।

पर्यटनलाई प्राथमिकता

सल्यानको यसै क्षेत्रबाट निर्वाचित कर्णाली सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला कुपिण्डेलगायतका अन्य क्षेत्रको विकासका लागि आफूहरू लागिरहेको बताउँछन् । यो दहको मात्रै कुरा गर्ने हो भने पनि धेरै पर्यटक आएको खण्डमा यस क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । उनी भन्छन्, ‘त्यसले यो क्षेत्रका आम नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उनी भन्छन्– संघीय सरकारसँग बारम्बार गरेको पहलका कारण यो सडक निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ । दह क्षेत्रमा आवश्यक विकास निर्माण र संरचना निर्माणका लागि प्रदेश सरकारले पनि आवश्यक बजेटको व्यवस्था गर्दै आइरहेको छ ।

उनले पर्यटनको विकास गर्न सकेको खण्डमा कर्णाली समृद्धिको आधार तयार पार्न सकिने बताए । कर्णाली भर्जिन ल्याण्ड हो । यहाँ आउनेहरूका लागि हरेक चिज नयाँ हुन्छ । उनले भने, ‘यहाँका प्राकृतिक सम्पदाहरूको उचित प्रचारप्रसार गर्ने र यसलाई व्यवस्थित बनाउन सकेको खण्डमा यसबाट नागरिकले मनग्ये आम्दानी लिन सक्छन् । यसले राज्यलाई पनि बलियो बनाउने हाम्रो अपेक्षा छ । यसैले यहाँ लगानी बढाउने बारेमा हामी सोचिरहेका छौं ।’

प्रकृतिप्रेमी हरेक व्यक्ति कुपिण्डे पुग्नुपर्ने बताउँछन्, उनी ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.