संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा: नेता जोशी – Nepal Press

संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा: नेता जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सडकबाटै कांग्रेसले संसद विघटनको कदमलाई चुनौती दिने बताएका छन् ।
सोमबारको प्रदर्शनबाट संसद विघटनको असंवैधानिक कदम सच्याउन कांग्रेसले दवाव सिर्जना गर्ने जोशीको भनाई छ ।

आइतबार पत्रकारहरुसंग कुराकानी गर्दै जोशीले सोमबारको प्रदर्शनपछि कांग्रेस केन्द्रीय समितिले आन्दोलनको थप खाका ल्याउने बताए । ‘पार्टीभित्र आन्तरिक छलफल जारी छ । हामी अहिले सांकेतिक रुपमा सरकारविरुद्ध सडकमा जाँदैछौं । जनताको चाहना अनुसार केन्द्रीय समितिले थप कार्यक्रम ल्याउने नै छ’, जोशीले भने ।

जोशीले सडकमा उत्रिएको कांग्रेसलाई आम जनताले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

उनका अनुसार अहिले कांग्रेसका चार महत्वपूर्ण राजनीतिक एजेण्डा रहेका छन् । असंवैधानिक कदमको विरोध र लोकतन्त्रको सुदृढीकरण , राष्ट्रियताको संरक्षण , पार्टीको संगठन सुदृढीकरण र जनजिविकाको पक्षमा पैरवी गर्नु आजको आवश्यकता रहेको जोशीको भनाई छ । ‘पहिलो कुरा संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा उत्रनुपरेको छ ।

लोकतन्त्रसंगै राष्ट्रियतालाई संकटमा पर्न नदिनु हाम्रो सरोकार हो । लोकतान्त्रिक पार्टी भएका कारण भोली पर्नसक्ने जुनसुकै चुनौती सामना गर्न हाम्रो संगठन चुस्त हुनुपर्छ । त्यसका लागि महाधिवेशन सम्पन्न गर्नुपर्छ । अर्को महत्वपूर्ण सवाल जनताको जीवन हो । जनजिविका सहज बनाउन कांग्रेसले खबरदारी गर्नैपर्छ’, जोशीले भने ।

सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसमा कुनै अलमल नभएको जोशीको भनाई छ । तत्कालका लागि एक दिने प्रदर्शन घोषणा भएपनि आन्दोलन निरन्तर हुने जोशीको दावी छ । ‘कांग्रेस आन्दोलनमा उत्रिसकेको छ । अब आन्दोलनबाट पछि हट्ने कुरा छैन । सडकबाटै सरकारलाई चुनौती दिन्छौ’, उनले भने ।

कांग्रेसले सोमबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध प्रदर्शन र सभा गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर