लुम्बिनीमा शंकरलाई तत्काल छैन संकट, तर ४ सांसदको सकस – Nepal Press

लुम्बिनीमा शंकरलाई तत्काल छैन संकट, तर ४ सांसदको सकस

प्रचण्ड–माधव पक्षका नेता भन्छन्– अविश्वास प्रस्तावको तयारी छैन

बुटवल । नेकपाको विवादको प्रभाव प्रदेश तहसम्म आइपुगेको छ । तर, लुम्बिनी प्रदेशको हकमा भने सरकार गिराउने र नयाँ बनाउने तहसम्मको समीकरण बनिसकेको छैन ।

अलग–अलग गुटमा रहेका नेताहरु पनि तत्कालै सरकार बदल्ने हतारोमा पुगिसकेका छैनन् । बरु विभाजित पार्टीका सांसद र नेताहरुको ओहोरदोहोरबाट नयाँ समीकरण बनाउने काम भइरहेका छन् ।

प्रदेशसभामा केपी ओली पक्षीय सांसदहरुको बहुमत छ । सरकारको नेतृत्व प्रभावशाली नेता शंकर पोखरेलले गरेका छन् । तर, प्रचण्ड–माधव समूहका सांसदले हात झिक्दा चार सांसद ओली समूहलाई पुग्दैन ।

प्रचण्ड–माधव नेपाल समूहमा रहेकै सांसदहरु सरकार फेर्ने भन्दा पनि अझ प्रभावकारी काम गर्ने गरी सरकार सञ्चालन हुने हो भने यही कायम राख्न तयार रहेको बुझिएको छ । तर केन्द्रको निर्देशन कस्तो आउँछ भनेर उनीहरु पर्खिरहेका छन् ।

सरकारलाई निरन्तरता दिन र बाँकी रहेका मन्त्रीलाई पनि थपेर प्रभावकारी काम गराउन चाहेको प्रचण्ड–नेपाल पक्षका एक नेताले बताए । ‘सरकार ढालेर अर्को बनाएर भन्दा पनि यही सरकारलाई कामकाजी बनाउन पनि सकिन्छ र सबैको विश्वास जित्ने पनि बनाउन सकिन्छ’ उनले भने ।

प्रदेशसभामा केपी ओली पक्षीय सांसदहरुको बहुमत छ । सरकारको नेतृत्व प्रभावशाली नेता शंकर पोखरेलले गरेका छन् । तर, प्रचण्ड–माधव समूहका सांसदले हात झिक्दा चार सांसद ओली समूहलाई पुग्दैन ।

वागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका अविश्वासको प्रस्ताव दर्ता भएपछि लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव आउने चर्चा चले पनि अहिलेसम्म त्यस्तो छनक देखिन्न ।

राजनीतिक विश्लेषक आरसी चापागाइँले यही सरकारलाई कामकाजी बनाउँदा सांसदहरुको निर्वाचन क्षेत्र पनि बलियो हुने र जनताको चाहना पनि समेट्न सकिने भएकाले प्रदेश तहमा सरकार गिराउने तथा अर्को बनाउनेतिर लाग्न उचित नहुने बताउँछन् ।

यहाँ तत्कालै अविश्वास प्रस्तावकाे मूडमा दाहाल–नेपाल समूह देखिएको छैन । किनकि माधव नेपालनिकट मानिने रुपन्देहीका प्रभावशाली नेता भोजप्रसाद श्रेष्ठ अहिले ओलीको पक्षमा लागेका छन् । उनले सरकारलाई प्रभावकारी काम गर्न दिनुपर्नेमा पार्टीबाटै असहयोग भइरहेको भन्दै आएका छन् ।

साविकको माओवादी केन्द्रका नेता र चुनावी गठबन्धनबाट चुनाव जितेका प्रदेशसभा सांसद तथा प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले तत्काल प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना नभएको बताउँछन् ।

उनी प्रचण्ड–माधव समूहबाट केन्द्रीय सदस्यको बैठकमा सहभागी भएका थिए । उनले पत्रकारलाई प्रतिक्रिया दिंदा पनि लुम्बिनी प्रदेशमा सरकार गिराउने र अर्को बनाउने बारेमा तत्कालै केही सोच नरहेको बताइरहेका छन् ।

सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी लुम्बिनी प्रदेशमा नदेखिए पनि यहाँ हिजोको नेता पक्षीय समीकरण बदलिन सक्छ । तत्कालीन एमालेका माधवपक्षीय कतिपय नेतालाई ओली पक्षले आफूतिर तान्न खोजेको छ ।

सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी लुम्बिनी प्रदेशमा नदेखिए पनि यहाँ हिजोको नेता पक्षीय समीकरण बदलिन सक्छ । तत्कालीन एमालेका माधवपक्षीय कतिपय नेतालाई ओली पक्षले आफूतिर तान्न खोजेको छ ।

बादल पक्षका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनाम प्रचण्ड–माधव समूहमा खुलिसकेका छन् । उनी प्रदेशसभामा नेकपाका संसदीय दलका उपनेता हुन् । सरकार गिर्ने अवस्था आएमा उनी के गर्छन् अझै खुलेर बताएका छैनन् ।

यसअघि माधन नेपालनिकट मानिने रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले ओली समूहको केन्द्रीय सदस्यको रूपमा शपथ लिइसकेका छन् । बाँकेका नेता कविराम थारूले अहिले आफूलाई ओली खेमामा उभ्याउन खोजेका छन् । उनी प्रचण्ड–माधव समूहको बैठकमा सहभागी हुन काठमाडौं गएका थिए ।

प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसाल आइतबार रुपन्देहीमा आएर भेला गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलस्थित तुलिप होटलमा उक्त समूहको भेलामा भुसालले प्रदेश सरकार हटाउनेबारे केही बोलेनन् ।

यस्तो छ गणित

प्रदेशसभाका ८७ सदस्यमध्ये तत्कालीन एमालेले ४१ सिट जितेको थियो । यी ४१ जना सांसदमध्ये अहिले प्रचण्ड–माधव समूहमा मात्रै एक जना सांसद देखिएका छन् । बाँकी ४० जना सबै केपी ओली पक्षमा रहेका छन् ।

तत्कालीन माओवादीले २० सिट जितेको थियो । भने कांग्रेसका १९ सांसद छन् । जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तथा नेकपाका युवा नेता भूमिश्वर ढकालले सरकारलाई कुनै अफ्ठेरो नरहेको दाबी गरे । प्रदेशसभामा नेकपाका ६१ सांसदमध्ये ओली समूहमा यसअघि नै ४० जना सांसद छन् ।

अब बहुमतका लागि ४ जना सांसदको खाँचो पर्छ । ‘बहुमत जुटाउन कुनै सकस छैन’ ओली निकटका नेता तथा प्रमुख सचेतक ढकालको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारमा अरु प्रदेशको जस्तै ओली समूहबाहेक अरु सबै समूह र दल एक ठाउँमा जुटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरे भने ओली समूहलाई ४ जना सांसद अपुग हुन्छ । यसका लागि मुख्यमन्त्रीसहितका नेताहरु समीकरण मिलाउन केन्द्रित छन् ।

‘यहाँ प्रचण्ड–नेपाल समूह, कांग्रेस र जनता समाजवादी पार्टी एक भए यहाँका मुख्यमन्त्री पोखरेल अफ्ठेरोमा पर्नेछन् तर त्यो अवस्था छैन’ राजनीतिक विश्लेषक चापागाइँको भनाइ छ ।

प्रचण्ड–माधव पक्षका नेताहरुले आफूहरुसँग २५ सांसद रहेको दाबी गरेका छन् । यद्यपि साविकको एमालेका एक जना नेता मात्रै प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् । साविकको एमालेबाट कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थी माधव नेपालनिकट हुन् । उनीबाहेक साविकका एमालेका सबै सांसद ओली पक्षमा रहेको दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर