उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो) – Nepal Press

उखु किसानका १५ दिन : बरु मार, त्यतिकै फर्कदैनौं (भिडियो)

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरू हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिन देखि आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरूले दिन बाँकी छ । भुक्तानी नपाएपछिगत वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।

उखु किसान संघर्ष समितिका सदस्य मायाशंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरूले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।

आन्दोलनरत किसानहरूले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारा समेत लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर