नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान – Nepal Press

नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

आजदेखि बलिउड भाइजान सलमान खान ५५ वर्ष लागे । नेपालसहित संसारभरका फ्यानहरुले आफ्ना प्रिय अभिनेताको जन्मदिन मनाए । मुम्बइमा एक सन्देश जारी गर्दै उनले कोभिड प्रोटोकल पालना गर्न र भीड नगर्न अपिल गरे ।

नेपालमा सलमानको फ्यान फलोइङ उच्च छ । उनलाई पछ्याउने र आदर्श मान्नेमा सबै उमेर समूहका नेपाली छन् । नेपालमा सर्वाधिक कमाउने फिल्मको सूचिमा भाइजानका फिल्म प्रशस्तै छन् । तर, स्वयम सलमान खान नेपालबारे के सोच्छन् ? यो निकै महत्वपूर्ण हुनेछ ।

सलमानसँग ‘भारत’ फिल्ममा सँगै काम गरेका नेपाली फिजियो डा. पुरन तिरवासँग नेपाल प्रेसले कुरा गरेको छ । उक्त फिल्मको छायांकन सेटमा तिरवाले सलमानसँग निकट रहेर काम गरे । ‘उहाँले मसँग नेपाल निकै सुन्दर लाग्ने र घुम्ने इच्छा व्यक्त गर्नुभएको थियो’ तिरवाले भने, ‘नेपालमा मेरा फ्यान प्रशस्तै छन् र मलाई माया गरिएका सन्देश पठाउनुहुन्छ । नेपालीहरु वास्तवमै मलाई प्रिय लाग्छ ।’

जीवनमा नेपालको पर्यटकीय थलो घुम्ने आफ्नो ठूलो इच्छा रहेको कुरा आफूलाई बताएको तिरवाले स्मरण गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व फिजियो समेत रहेका डा. तिरवाले आमिर खान स्टारर ‘ठग्स अफ हिन्दोस्तान’ र रणवीर–आलिया स्टारर ‘ब्रम्हाष्त्र’मा समेत काम गरेका छन् । ‘ब्रम्हाष्त्र’ रिलिज तयारीमा छ ।

कोभिड संक्रमणको जोखिमका कारण सलमान अहिले मुम्बइस्थित घरमै बसेर जन्मदिन मनाइरहेका छन् । यसपटक पहिलेजस्तो फ्यानको ग्यादरिङ र स्पेसल कार्यक्रम भने भाइजानको तर्फबाट छैन । नेपालस्थित सलमान खानका फ्यानले दरबारमार्गस्थित बेइङ ह्युमनको आउटलेटमा जन्मदिन केक भने काटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर