शेरधनविरुद्ध उभिने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित) – Nepal Press

शेरधनविरुद्ध उभिने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

३० सांसद शेरधनको पक्षमा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारुढ नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

राईसँग संसदीय दलको नेतामा पराजित भएका भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै आइतबार बिहान दर्ता भएको अविश्वास प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । पार्टी विभाजनको असरसँगै ३७ जना सांसद प्रचण्ड–माधव नेपाल पक्षमा लागेर हस्ताक्षर गरेपछि अब २९ जना शेरधन राईको पक्षमा देखिएका छन् ।

प्रचण्ड–माधव पक्षले आफ्नो पक्षमा ४० सांसद रहेको दावी गरेपनि अविश्वास प्रस्तावमा भने ३७ जनाको हस्ताक्षर छ । तर केही सांसद प्राविधिक कारणले हस्ताक्षर गर्नबाट छुटेको नेपाल पक्षका नेताले बताएका छन् ।

तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा राईले २६ मत पाएर दलको नेता निर्वाचित भएका थिए । आचार्यले त्यसबेला २४ मत पाएका थिए । राजन राईको एक मत बदर भएको थियो ।

प्रचण्ड–माधव नेपाल पक्षकै मानिने प्रदेश सरकारका राज्यमन्त्री रामकुमार मगरले भने गुट परिवर्तन गरेर मुख्यमन्त्रीलाई साथ दिएका छन् । उनले पार्टी विभाजन भइसकेकाले अब आफू केपी ओली नेतृत्वकै पार्टीमा रहने बताएका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसको २१ सिट छ भने जनता समाजवादी पार्टीको ३ सिट, राप्रपाको १ सिट र लिम्बुवानको १ सिट छ । अब प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक भएको छ ।

अविश्वास प्रस्ताव पार्टी विभाजनको कारण ल्याइएपनि प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्तावमा भने प्रदेश सरकारले तीन वर्षसम्म प्रदेशको नामाकरण गर्न नसकेको, जनताको हितका प्रभावकारी काम नभएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, सरकारको काम कारवाहीले प्रदेश सरकारको औचित्यमाथिनै गम्भीर प्रश्न उठेको लगायतका आरोप लगाइएको छ ।

अविश्वास प्रस्तावमा आर्थिक रुपमा प्रदेशलाई कमजोर बनाउँदै लगेको आरोप पनि लगाइएको छ । तर आरोप लगाउने प्रस्तावका प्रस्तावक इन्द्र आङ्बो आफैं शनिबारसम्म प्रदेश सरकारको अर्थमन्त्री थिए । त्यस्तै अन्य तीन मन्त्रीले आज मात्रै राजीनामा दिएका छन् ।

यस्तो अविश्वास प्रस्ताव र हस्ताक्षर गर्ने सांसदको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर