प्रदेश-२ को कार्यालयमा दुवै पक्षको दाबी, बैंककाे करोडौं रुपैयाँ ओली पक्षको हातमा – Nepal Press
नेकपा विवाद

प्रदेश-२ को कार्यालयमा दुवै पक्षको दाबी, बैंककाे करोडौं रुपैयाँ ओली पक्षको हातमा

जनकपुर । नेकपाका दुवै पक्षले केन्द्रदेखि सबै तहका जिल्ला कार्यालय र पार्टीको सम्पत्तिमा आ-आफ्नो दाबी गरिरहेका बेला प्रदेश २ को राजधानी जनकपुरधाममा पनि केपी ओली र प्रचण्ड-माधव नेपाल पक्षले आ-आफ्नो दाबी गरेका छन् ।

विभिन्न जिल्लाहरुमा पार्टी कार्यालयहरु कब्जा गर्ने काम दुवै समूहले सुरु गरिसकेका छन् । यता जनकपुरधाममा रहेको नेकपाको प्रदेश २ पार्टी कार्यालय पनि विवादित बन्न पुगेको छ ।

प्रदेश पार्टी कार्यालय आफ्नो भएको दुवै पक्षले दावी गरेका छन् । जनकपुरमा तत्कालीन नेकपा एमालेको एउटा र त्यसकै छेउमा तत्कालीन माओवादी केन्द्रको अर्का पार्टी कार्यालय थियो । दुवै दल एकीकरणपछि दुवै पार्टी कार्यालय नेकपाको भयो ।

२०५५  सालमा तत्कालीन नेकपा एमालेको जनकपुर अञ्चल समन्वय कमिटी एवं धनुषा जिल्ला कमिटीको कार्यालय शिलान्यास तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले गरेका थिए । निर्माणपछि कार्यालयको २०५९ माघ १७ मा तत्कालीन महासचिव माधवकुमार नेपालले गरेका हुन् ।

पार्टी कार्यालय करिब ६ कट्ठा गुठीको जग्गामा निर्माण गरिएको छ । यता तत्कालीन माओवादीले पनि ५ कोठे पक्की भवन गुठीकै जग्गामा निर्माण गरेर प्रदेश पार्टी कार्यालय संचालन गरेको थियो । पार्टी विभाजित भएपछि प्रदेश पार्टी कार्यालय सुनसान छ । दुवैतिरका अधिकांश नेता काठमाडौंमा छन् ।

प्रदेशसभा लामो समयदेखि ठप्प रहेका कारण सांसदहरु पनि आ–आफ्नै क्षेत्रमा छन् । पार्टी कार्यालयको रेखदेख भने कमला नगरपालिका घर भई वन कार्यालयमा कार्यरत अरबिन्द यादवले गरिरहेका छन् । यादव दम्पती छोरा–छोरी लिएर पार्टी कार्यालयमै बस्छन् ।

शनिबार कार्यालय पुग्दा अरबिन्दकी श्रीमती बबिता यादव छोरा–छोरीसँग थिइन् । ‘अहिले कार्यालय बन्द छ । नेताहरु आउँदा केहीबेर बाहिर नै बस्नुहुन्छ अनि फर्कनुहुन्छ,’ उनले नेपाल प्रेससँग भनिन् ।

प्रचण्ड समूहका प्रदेश सांसद शत्रुधन महतोले पार्टी जसको हुन्छ, उसैको पार्टी कार्यालय हुने बताए । उनले भने, ‘अहिले पार्टी कार्यालय हाम्रो हो । हामीले आइतबार प्रदेश भेला त्यहीं गर्न लागेका छौं ।’ ओली समूहले बेइमानी गर्न खोज्यो भने अर्काे ठाउँमा पुनः पार्टी कार्यालय बनाउने उनको भनाइ छ ।

नेकपाका अर्का प्रदेश सांसद रामचन्द्र मण्डलले पनि निर्वाचन आयोगबाट आधिकारिकता पाउने समूहको पार्टी कार्यालय हुने बताए । प्रचण्ड समूहमै रहेका उनले भने– ‘अहिले त समस्या छ । पार्टीका संयोजक र इन्चार्ज पनि उतै (ओली) समूहमा पुगे । त्यसैले नेकपाको आधिकारिकता जुन समूहको हुन्छ, कार्यालय पनि उसैको हुन्छ ।’

यता, ओली समूहमा खुलेका नेकपाका प्रदेश सचिव सुमन प्याकुरेलले मूलधारको आफूहरु भएको र कार्यालय पनि आफ्नै भएको दाबी गरेका छन् । उनले पूर्व एमालेले पार्टी कार्यालय निर्माण गरेकोले मूलधारकै पार्टी कार्यालय हुने तर्क गरे । यद्यपि निर्वाचन आयोगको निर्णयका आधारमा स्वीकार गरिने बताए ।

बैंकमा करोडौं रुपैयाँ

पार्टी विभाजनपछि नेकपा प्रदेश २ अध्यक्ष प्रभु साह, इन्चार्ज तथा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डल र सचिव सुमन प्याकुरेल ओली समूहमा लागेका छन् । प्रचण्ड समूहमा खुले पनि आन्तरिक विवादपछि प्रभु साह ओली समूहमा पुगेर मन्त्रीसमेत बने ।

प्रदेशमा पार्टीको नाममा रहेको बैंक खाता साह र सचिव प्याकुरेलको नाममा संचालनमा रहेको बुझिएको छ । प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । उनीहरुले प्रतिमहिना १० हजार लेबी बुझाउँछन् ।

लेबीबाट मात्रै बैंकमा करोडौं रुपैयाँ छ । बैंकमा हस्ताक्षर चल्ने सचिव प्याकुरेल भन्छन्, ‘बैंकमा कति रुपैयाँ छ ठ्याक्कै भन्न सक्दिनँ ।’ प्रचण्ड समूहमा रहेका सांसदहरु पनि बैंकमा कति रुपैयाँ रहेको विषयमा अनभिज्ञ छन् । बैंकमा भएको रुपैयाँ कसको हुने विषयमा अहिले केही भन्न नसकिने उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर