पार्टी एकताको गर्भमै केही समस्या थिए : ईश्वर पोखरेल – Nepal Press

पार्टी एकताको गर्भमै केही समस्या थिए : ईश्वर पोखरेल

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) का नेता ईश्वर पोखरेलले तत्कालीन दुई पार्टीबीचको एकताको गर्भमै समस्या रहेको बताएका छन् ।

पार्टीमा आएको विभाजनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र (काठमाडौं–५)मा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यो समस्या मूलतः तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण सिर्जना भएको उनको भनाइ थियो ।

‘त्यो एकताको गर्भमै केही समस्या थिए’ पोखरेलको भनाइ छ, ‘हिजो हामीले संसदीय निर्वाचन, प्रदेशसभाको निर्वाचनमा जाने बेलामा अब साझा चुनाव चिन्ह हुन्छ सूर्य । साझा उम्मेदवार हुन्छन् भनेर हामीले तय गर्‍यौं । साझा घोषणापत्र हुन्छ भनेर हामीले तय गर्‍यौं । हामी गद्गद् भयौं, खुशी भयौं । तर, त्यो सहमति भए पनि २४ घण्टा पनि वित्न पाएन । प्रचण्डले हामीलाई खबर पठाउनुभयो, सूर्य चिन्ह लिएर हामी त चुनाव लड्न नसक्ने भयौं । हामी छाँगाबाट खसेजस्तो भयौं ।’

त्यसलाई पोखरेलले विचित्रको अवस्था र पहिलो गाँसमै ढुंगा लागेको रुपमा व्याख्या गरे । ‘सहमति भएको २४ घण्टा भएको छैन विचित्रको अवस्था भयो’ उनले भने, ‘त्यो विचित्र अवस्था भनेको के हो भने उम्मेदवार साझा, घोषणापत्र साझा, चुनाव चिन्ह चाहिं आफ्नो–आफ्नो । जबकि २४ घण्टा पहिले एउटा निर्णय गरिएको थियो । हामीलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।’

चुनाव चिन्हकै कारणले दश लाख मत बदर भएको उनको दाबी समेत थियो ।

चुनाव आफूहरुसँग मिलेर लडे पनि प्रचण्डले कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप पोखरेलले लगाए । ‘अहिले पनि प्रचण्डले बेला बेलामा भन्नुहुन्छ, मैले त पाँच वर्ष प्रधानमन्त्री पाएकोमा पनि त्याग गरेँ’ उनले भने, ‘कांग्रेस, मधेशवादी र साना पार्टीसँग मिलेर उहाँ (प्रचण्ड) पाँच वर्षको प्रधानमन्त्री हुनको लागि जोरजाम चलिरहेको रहेछ ।’

प्रारम्भिक दिनहरुमा प्रचण्डले केपी ओलीको नेतृत्वमा सहभागी हुन समेत इन्कार गरेको उनको भनाइ थियो । ‘फागुन ३ गते सरकार घोषणा हुँदा अर्को पटक हाम्रो दाँतमा फेरि ढुंगा लाग्यो’ पोखरेलले सुनाए, ‘केपी ओलीसहित तीन जना मात्रै भएर मन्त्रिमण्डल घोषणा गर्नु पर्‍यो । सँगै चुनाव लडेको आफ्नो सहयोद्धा पार्टी त सरकारमा सामेल नै भएन ।’

कार्यकर्तासँग क्षमायाचना

पाेखरेलले पार्टी एकता जोगाउन आफूले धेरै पहल गरेको र त्यसका वाबजूद पनि जोगाउन नसकिएको भन्दै उनले कार्यकर्ताहरुसँग क्षमायाचना समेत गरे ।

‘मैले मेरो जिम्मेवारी अनुसार भूमिका खेल्दा खेल्दै पनि त्यो काम हुन सकेन, त्यसका लागि म तपाईंहरुसँग दुःख व्यक्त गर्छु’ पोखरेलको भनाइ थियो, ‘मैले योग्यता, क्षमता र इमानका साथ प्रयत्न गरेँ तर त्यति गर्दा पनि हुन सकेन। त्यसका लागि म तपाईंहरुसँग क्षमा पनि माग्न चाहन्छु ।’

निर्वाचन केन्द्रित भएको जस्तो प्रतीत हुने कार्यक्रममा सूर्य चुनाव चिन्हको व्यापक रुपमा प्रयोग गरिएको थियो । विभाजित दुवै पक्षले असली नेकपा आफूहरु भएको भन्दै सूर्य चुनाव चिन्ह पाउनुपर्ने दाबी गरिरहेका छन् ।

आफ्नो चुनाव क्षेत्र भित्रका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा सूर्य चुनाव चिन्ह आफूहरुले नै पाउने भन्दै ढुक्क भएर चुनावको तयारीमा लाग्न पनि उनले आग्रह गरेका थिए ।

आफ्नो भूमिका र व्यस्तताका कारण कतिपय अवस्थामा निर्वाचन क्षेत्रका कार्यकर्ता र जनतासँग समय विताउन नपाएको भन्दै पोखरेलले सम्बन्ध नवीकरण गर्नुपर्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर