किन भइरहेको छ नेपाली बजारमा ल्यापटप अभाव – Nepal Press

किन भइरहेको छ नेपाली बजारमा ल्यापटप अभाव

व्यापारी भन्छन्-अत्यावश्यक नभए अहिले नकिन्नुस्

काठमाडौं । भक्तपुरका राजेश केसी ल्यापटप किन्नलाई गत सोमबार न्यूरोड पुगे । आफूले किन्न खोजेको ल्यापटपका लागि उनले दुई-चार ओटा पसल चहारे ।

केसीले आफूले खोजेको मोडल र ब्राण्डको ल्यापटप त पाएनन् नै मूल्य सुनेर उनी छक्क परे ! ६ महिना अघि र ६ महिनापछिको ल्यापटपको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भएको उनले पाए ।
न्यूरोडमा भेटिएका राजेश भन्छन्, ‘आफूले भनेको ब्राण्डको ल्यापटप त पाउँदै पाइनँ । मूल्य पनि आकाशिएको रहेछ ।’

गत जनवरीमा चीनमा देखापरेको कोरोनाभाइरस विश्वव्यापी रूपमा फैलिंदा त्यसको असर उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सबैमा पर्‍यो ।

एकातिर उद्योगधन्दा बन्द भए, अर्कोतिर सामान ओसारपसार गर्ने जहाज कार्गो पनि बन्द नै रहे । जसले गर्दा विश्वबजारमा धेरै सामान एक ठाउँबाट अर्को ठाउँमा जान सकेनन् । त्यसको असर इलेक्ट्रोनिक सामानमा पनि पर्‍यो ।

कोरोना महामारीका कारण विश्वव्यापी रूपमा विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द भए । विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीहरू घरमा नै अनलाइन कक्षा पढ्न थाले । जसका कारण नेपाली बजारमा ल्यापटपको माग ह्वात्तै बढेको बताउँछन् न्यूरोडस्थित सोनी इलेक्ट्रोनिक्सका व्यापारी दीपक श्रेष्ठ । ‘बजारमा ल्यापटपको माग अनुसार आपूर्ति नै गर्न सकेका छैनौं’, श्रेष्ठले भने नेपालमा पनि गत पाँच महिनाको तथ्याङ्कले ल्यापटपको आयातमा कमी आएको देखाउँछ । गत आव २०७६-७७ को पहिलो पाँच महिनामा ९४ हजार ३५० थान ल्यापटप नेपाल भित्रिएकोमा आव २०७७-७८ मा ३७ हजार ५९० थान मात्र ल्यापटप नेपाल भित्रिएको छ ।

अहिले श्रेष्ठका पसलमा ल्यापटप राख्ने र्‍याक धेरैजसो खाली छन् । ब्राण्ड–ब्राण्डका ल्यापटप पनि उनका पसलमा कम छन् । ‘मैले हिजो मात्र ५० थान डेल ल्यापटप अर्डर गरेको थिएँ । तर, तीन थान मात्र डिलरले पठाइदिएछ’, उनले भने ।

कोरोनाले गर्दा प्लेनबाट सामान ल्याउनुपर्ने बाध्यताले नेपाली बजारमा ल्यापटप अभाव हुनुका साथै मूल्यमा वृद्धि भएको बताउँछन् न्यूरोडका व्यापारी सुजन रायामाझी । उनका अनुसार अहिले बजारमा रोजीछाडी ल्यापटप छैनन् । ‘अत्यावश्यक’ नभए ल्यापटपै नकिन्न सुझाउँछन् उनी । ‘कोरोनाका कारण बजारमा ल्यापटपको अभावसँगै मूल्य पनि आकासिएको छ । यो वेलामा अत्यावश्यक भए ल्यापटप किन्नुस् नभए पुरानोले काम चलाउनुस्’ उनले भने ।

उनका अनुसार पसलमा पनि मागे जति ल्यापटप डिलरले पठाउन सकेको छैन । ‘हामीले पसलमा २० थान मागेकोमा डिलरहरूले १० थान, ५ थान मात्र पठाउँछ’, उनले भने ।

नेपालमा धेरैजसो ल्यापटप दुबई र सिंगापुरबाट आउने भए पनि सीधै त्यहाँबाट नेपाल आउँदैनन् । व्यापारीका अनुसार चीन हुँदै नेपाल भित्रिने ल्यापटपमा चीनको वर्चस्व रहेको छ । चीनबाट मात्र आव २०७७-७८ साउनदेखि मंसिरसम्ममा ३५ हजार २४७ थान ल्यापटप आएका छन् ।

त्यसैगरी गत आवमा चीनबाट नै ८२ हजार ५८३ थान ल्यापटप नेपाल भित्रिएको छ । अन्य देशबाट नगन्य रूपमा मात्र ल्यापटप नेपाल भित्रिने गरेको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै आयात गरिने वस्तुमा इलेक्ट्रिक सामग्री रहेका छन् । नेपालमा विशेषगरी डेल, एचपी, एसर, एप्पल, लेनोभोलगायतका ल्यापटपको माग बढी रहेको व्यापारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर