अमेरिकी सांसदले भने : नेपालको लोकतन्त्रमा गरिएको लगानी खेर गयो – Nepal Press

अमेरिकी सांसदले भने : नेपालको लोकतन्त्रमा गरिएको लगानी खेर गयो

काठमाडौं । दुईजना अमेरिकी सांसदले नेपालले प्राप्त गर्ने अमेरिकी वैदेशिक सहायताको प्रभावकारितामा प्रश्न गरेका छन् । उनीहरुले नेपालको लोकतन्त्रमाथि गरिएको १३० मिलियन डलर (१५ अर्ब ३० करोड) रकम खेर गएको बताएका हुन् ।

केन्टकी राज्यका सिनेटर र्‍यान्ड पउल र टेक्सस राज्यका सिनेटर लेन्सी गडेनले विहीबार अमेरिकी तल्लो सदन प्रतिनिधिसभामा २ हजार डलरको राहत चेक समेटिएको संशोधित राहत प्याकेजप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

नेपालसहित श्रीलंका, पाकिस्तान र भेनेजुएलामा हुने अमेरिकी वैदेशिक सहायतामाथि यस्तो प्रश्न गरिएको हो । यी दुवै ट्रम्प प्रशासनका पक्षधर रिपब्लिकन सांसद हुन् । राहत प्याकेज र खर्च विधेयक गत सोमबार प्रतिनिधिसभा र मध्यरातमा सिनेटबाट पारित भएका थिए ।

सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरले विपक्षमा मतदान गरेका थिए । राष्ट्रपति ट्रम्पले संसदबाट पारित राहत प्याकेजमा हस्ताक्षर नगरी खर्च विधेयकमा परिमार्जन नभएसम्म हस्ताक्षर नगर्ने संकेत गरेका छन् । आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधेयक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ५५९३ पृष्ठ लामो छ ।

सिनेटर पउलले ट्वीट गरेका छन् : नेपालको लोकतन्त्र प्रवर्धन गर्न १३० मिलियन डलर । पाकिस्तानलाई यही कामका लागि १५ मिलियन डलर । आफ्नै देशको वैध मतदान छानबिनका लागि काम गर्न नसक्नेले अरु देशको लोकतन्त्रको प्रवर्धन गर्छु भन्न कति सुहाउँछ ?’

नेपाललगायतका मुलुकमा गरिएको अमेरिकी वैदेशिक सहायतालाई यी दुई सांसदले हालैको अमेरिकी राष्ट्रपतीय चुनावमा भएको धाँधलीसँग जोडेर हेरेका छन् । यसको अर्थ, यी सांसदहरुले वैदेशिक सहायताको नाममा हुने सरकारी खर्च कटौतीका लागि संसदलाई आग्रह गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर