बादल ओली पक्षमा रहने संकेत, बिहीवारको बैठकमा जालान् ? – Nepal Press

बादल ओली पक्षमा रहने संकेत, बिहीवारको बैठकमा जालान् ?

काठमाडौं । नेकपा विभाजनका सन्दर्भमा केपी ओली र प्रचण्ड दुवै समूहका बैठकमा नगई तटस्थ बसेका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले ओलीलाई नै साथ दिने संकेत गरेका छन् ।

बुधवार बालुवाटारमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका बादलले निकट केही नेताहरुसँग पार्टी विभाजन प्रचण्डहरुले गरेकाले अहिले ओलीलाई साथ दिने बताएका हुन् । स्रोतका अनुसार उनले बिहीवारको ओली पक्षधर नेकपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने जानकारी समेत दिएका छन् ।

बादल निकट अधिकांश नेताहरु प्रचण्डसँग लागिसकेका छन् । केही केन्द्रीय सदस्यहरु भने बादलको अन्तिम निर्णय पर्खेर दुवै पक्षका भेला बैठकमा गएका छैनन् । उनी निकट एक नेताले बादलले विहीवारै आफ्नो कित्ता प्रष्ट पार्ने बताए ।

उनले भने–नेताले निर्णायक घडीमा आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ । एकताको प्रयास सफल भएन । उहाँ गृहमन्त्रीमै कायम रहेकाले अहिलेसम्म केपी ओलीसँगै रहेको बुझ्नुपर्छ । जहाँसम्म लाग्छ उहाँले प्रचण्डसँगको करीब ४० वर्षको सहकार्य अन्त्य गर्दै हुनुहुन्छ ।

प्रचण्ड–माधव नेपाल पक्षले सरकारलाई काम गर्न नदिएको र प्रधानमन्त्रीलाई पाइला पाइलामा अवरोध सिर्जना गरेको बादलको बुझाइ छ । अहिले विभाजनको दोष पनि बादलले प्रचण्डलाई दिएको बताइन्छ । यसबीचमा प्रचण्डले बादललाई दुई पटक उनकै घरमा गएर आफूलाई साथ दिन आग्रह गरेका थिए ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा समेत प्रचण्डले ‘यो बैठकको अग्रभागमा बैठकले वामदेव र बादललाई खोजेको छ’ भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर