ओली पक्षीय भेलामा ब्रिफिङ– सूर्य हाम्रै हुन्छ, अब चुनावको तयारीमा लागौं – Nepal Press

ओली पक्षीय भेलामा ब्रिफिङ– सूर्य हाम्रै हुन्छ, अब चुनावको तयारीमा लागौं

काठमाडौं– पार्टी विभाजनपछि ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीले नयाँ परिस्थितिका बारेमा नेतादेखि कार्यकर्तासम्मलाई ‘ब्रिफिङ’ थालेको छ ।

बुधबार काठमाडौंका विभिन्न स्थानमा प्रदेशगत रुपमा छुट्टाछुट्टै स्थानमा आयोजना गरिएका सातै प्रदेशका भेलामा नेताहरुले नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित गरेका छन् ।

ओली पक्षले मंगलबार नयाँ ५५६ जना नयाँ केन्द्रीय सदस्य थपेको थियो । उनीहरुलाई प्रशिक्षित गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, टाेपबहादुर रायमाझी, मणि थापा, प्रदीप ज्ञवालीलगायतले दिनभर दौडधुप गरेका थिए।

आफ्ना पक्षका नयाँ पुराना केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्दै सूर्य चिन्ह आफूहरुले नै पाउने र चुनाव पनि समयमै हुने भन्दै ढुक्क भएर त्यसको तयारीमा लाग्न उनीहरुले निर्देशन दिएका थिए।

वागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी केन्द्रीय सदस्य माधव ढुंगेलले जिल्लागत रुपमा भेलामा पार्टी टुक्रिएपछिको अवस्थाबारे ‘रिपाेर्टिङ’ गरिएको बताए ।

‘सूर्य चुनाव चिन्ह हामीले नै पाउँछौं भन्नेमा नेताहरु ढुक्क देखिनुभयो’ उनले भने, ‘ढुक्क भएर चुनावमा लाग्न उहाँहरुले निर्देशन दिनुभयो ।’

सूर्य चिन्ह र पार्टीको आधिकारिकता अहिले नेकपाको दुवै पक्षका लागि प्रतिष्ठाको विषय बनेको छ । प्रचण्ड–माधव पक्षले बुधबार मात्रै आफूहरु नै आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

प्रदेश १ को भेलामा सम्बोधनका क्रममा पार्टी नफुटेको र आफूहरु त्यसको पक्षमा नभएको नेताहरुले बताएको केन्द्रीय सदस्य खगेन्द्र राईले जानकारी दिए । ‘संसद विघटन बाध्यात्मक कदम भएको नेताहरुले बताउनुभयो’ राईले भने, ‘ताजा जनादेशका लागि चुनाव घोषणा भइसकेकाले त्यसमै उच्च मनोबल बनाएर लाग्न निर्देशन दिनुभयो ।’

केही नेताहरु अलग भए पनि विभाजनले एक नम्बर प्रदेशमा धेरै असर नपर्ने ‘रिपाेर्टिङ’ भएको उनले बताए । ‘केही नेता यता उता जानु भए पनि ठूलो असर पर्दैन भन्ने रिपाेर्टिङ साथीहरुको थियो,’ उनले भने ।

लुम्बनी प्रदेशको भेलामा पनि नेताहरुले पार्टी एकताबद्ध भएको, आफूहरुले कसैलाई कारबाही नगरेको र चुनावको मिति तोकिइसकेकाले त्यसको तयारीमा लाग्न निर्देशन भएको केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिइन् ।

भेलामा प्रदेशका सबै जिल्लाबाट वास्तविक शक्तिबारे रिपाेर्टिङ भएको र धेरैले शक्ति घट्ने नभई अझै थपिन सक्ने बताएको उनको भनाइ छ । ‘पछिल्लो घटनाक्रमबारे जानकारी गराउनुभयो’ उनले भनिन्, ‘धेरै नेताले चुनाव तोकिएकै समयमा हुने र त्यसको व्यापक तयारीमा लाग्न निर्देशन दिनुभयो ।’

प्रशिक्षणमा सहभागी केहीले सूर्य चुनाव चिन्ह के हुन्छ भनेर प्रश्न गरेको र जवाफमा नेताहरुले त्यसको धेरै चिन्ता नलिन आग्रह गरेको उनको भनाइ थियो। जिएमले भनिन्, ‘एक हिसाबले चुनाव चिन्ह हामीले नै पाउँछौं भन्ने विश्वास उहाँहरुले व्यक्त गरिरहनुभएको थियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर