जसपाको प्रदर्शन : मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएनन्, राष्ट्रपति र प्रधानमन्त्रीलाई देश छाड्न माग – Nepal Press

जसपाको प्रदर्शन : मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएनन्, राष्ट्रपति र प्रधानमन्त्रीलाई देश छाड्न माग

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि अहिले देशभर विरोध भइरहेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार आज देशभर प्रदर्शन भयो ।

प्रदेश २ का सबै जिल्लामा जसपाले प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । प्रदेश २ मा जसपाको सरकार छ ।

तर मुख्यमन्त्री र मन्त्रीहरु भने विरोध प्रदर्शनमा सहभागी भएनन् । प्रदेशको अस्थायी राजधानी जनकपुरको प्रदर्शनमा जसपा सांसद रामआशिष यादव मात्र सहभागी भए ।

मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल काठमाडौंमा छन् । त्यसबाहेक सबै मन्त्री र राज्यमन्त्री प्रदेशमै छन् । यद्यपि उनीहरु संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी नभएपछि नेता तथा कार्यकर्ताहरु सशंकित बनेका छन् ।

जनकपुरको प्रदर्शनमा सहभागी एक नेताले भने, ‘प्रदेशका मन्त्रीहरु कुनै ठाउँको प्रदर्शनमा सहभागी हुनुभएको छैन । खै, उहाँहरु किन सहभागी हुनुभएन थाहा छैन ।’ मन्त्री मात्र होइन, राज्यमन्त्रीहरु समेत पार्टीको पूर्वनिर्धारित आन्दोलनको कार्यक्रममा सहभागी नहुनु शंकाको विषय हो– नेपाल प्रेससँग ती नेताले भने ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मन्त्रीहरु मास परिचालनमा खटेको बताए । उनले भने, ‘सबै मन्त्री मास परिचालनमै खट्नुभएको छ । प्रदर्शनमा सहभागी नहुनुको कुनै अन्य कारण छैन ।’

प्रधानमन्त्री र राष्ट्रपति देश छाड्न माग

जनकपुरधाममा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले ‘प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले देश छाड्न माग गरेका छन् । प्रदर्शनकारीहरुले संसद पुनर्स्थापना गर, केपी ओली मुर्दावाद जस्ता नारा समेत लगाए ।

जनकचोकबाट निस्केको जुलुस शहरको विभिन्न भागको परिक्रमा पश्चात पुनः जनकचोकमा गएर कोणसभामा परिणत भयाे ।

कोणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद रामआशिष यादवले संविधानलाई लत्याएर ओलीले संसद् विघटन गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री अल्पमतमा परेको र अविश्वासको प्रस्ताव दर्ता भएको बेला मात्र संसद् विघटन गर्न पाउँछन् । तर न अल्पमतमा न अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा संसद् विघटन गरेर ओलीले संविधानलाई लत्याएका छन् ।’

यस्तै जसपाकी केन्द्रीय सदस्य रेणु झाले संसद् विघटन गरेकोमा आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली पागल र नालायक भएको बताइन् । उनले ओलीलाई पागलखानामा राख्नुपर्ने र सबै जनताले बहिष्कार गर्नुपर्ने पनि बताइन् ।

‘अहिले कोरोना महामारीले देश थलिएको छ । तर जनतालाई कोरोनाको उपचार आफैं गर्न भन्छन्’ उनले भनिन्, ‘तर अर्बौ रुपैयाँ खर्च हुने निर्वाचनको घोषणा गरेको छ । के राज्यको ढुकुटी ओली बाउको हो ?’ उनले संसद् पुनर्स्थापना गराउन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर