ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो) – Nepal Press

ओलीको चुनावी योजना– प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत (भिडियो)

नेपाल प्रेस २०७७ पुष ७ गते १७:१०
२०७७ पुष ७ गते १७:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट प्रचण्ड–माधव नेपालहरु आफ्नै कारणले किनारा लागे पनि आफू नेतृत्वको नेकपाले आगामी वैशाखमा हुने निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी योजना बनाइने बताएका छन् ।

केन्द्रीय कमिटीको बालुवाटारमा सम्पन्न बैठकमा ओलीले महत्वाकांक्षी योजना सुनाउँदै भने– हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने त्यो समानुपातिकमा जोडिन्छ । प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।

प्रधानमन्त्री ओलीले अबको आफ्नो अभियान त्यस हिसाबले सञ्चालन हुने र आँधी तुफान सिर्जना गरिने बताए । बैठकमा सदस्यहरुलाई उत्साहित पार्दै ओलीले त्यो जित निकाल्ने योजना र सामर्थ्य आफूसँग रहेको दाबी गरे ।

यसबीचमा पार्टीका कमिटी तथा विभागहरुलाई पूर्णता दिने र सबै संरचनाहरु व्यवस्थित गरि चुनावमा होमिन सबैलाई निर्देशन दिए । ओलीले प्रचण्ड माधव नेपालहरु बैठकमा किन आएनन् ? भनेर निराश नहुन आग्रह गर्दै त्रिशूलीमा पसेका कतिपय वस्तु विस्तारै आफैं किनारामा लाग्ने उदाहरण दिंदै आफ्नै कारण उनीहरु किनारा लागेको बताए ।