पार्टी विभाजन भएको छैन, जिम्मेवारी हेरफेर भएको हो : प्रदीप ज्ञवाली – Nepal Press

पार्टी विभाजन भएको छैन, जिम्मेवारी हेरफेर भएको हो : प्रदीप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री तथा केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी विभाजन नभई केन्द्रीय कमिटीको विस्तार मात्र भएकाे बताएका छन् ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको निर्णय सुनाउने क्रममा प्रवक्त ज्ञवालीले भने, ‘ प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विभाजित भएको छैन । कमिटीको विस्तारका लागि साथीहरू थपिनुभएको छ । नेकपा एकताबद्ध छ ।’ बैठकमा कुनै पनि नेतालाई कारबाही नगरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीमाथि षड्यन्त्रपूर्वक अविश्वासको प्रस्ताव तयारी गरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको ज्ञवालीको आशय थियो ।

‘एकाबिहानै दौडेर एउटा प्रयोजनका निम्ति प्रयोग गरिएको हस्ताक्षरलाई कपी पेस्ट गरी टाँसेर ओलीमाथि अविश्वास प्रस्ताव तयारी किन गर्नुपर्दथ्यो’ ज्ञवालीले भने, ‘उहाँले हाम्रो पार्टीलाई केही कुराले पनि एक बनाउन नसकेपछि निर्वाचनले एकता गर्छ भन्ने सन्देश दिनुभएको छ ।’

बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदबाट हटाएर ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । यो प्रसंगमा ज्ञवालीले भने, ‘पार्टी प्रवक्ताको काम पार्टीका आधिकारिक विचारहरूको सम्प्रेषण गर्ने हो । आफ्ना निजी आकांक्षा बुझाइलाई व्यक्त गर्ने होइन । त्यसकारण पार्टी अध्यक्षले मलाई आधिकारिक कुरा सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत नभएको ज्ञवालीको आशय थियो ।

उनले भने, ‘पार्टी र संसदलाई देश र जनताको एजेण्डामा हैन, कोभिड १९ मा हैन, अरु प्राकृतिक विपत्तिमा परेका जनताका पीडामा हैन, राष्ट्रिय स्वाभिमानको, राष्ट्रियता सुदृढीकरणको एजेण्डामा हैन केही नेताहरूको कहिल्यै पनि सन्तुष्ट नहुने आकांक्षाहरूको बन्धक जस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधिसभाकोे ६४ प्रतिशत सदस्यहरूको समर्थन प्राप्त दलका नेता र प्रमको हैसियतले उहाँले सभा विघटन गरेको जानकारी गराउनुभयो ।’

सरकारलाई काम गर्न नदिन चार वर्षअगाडिकै परिस्थितिको पुनरावृत्ति प्रचण्ड पक्षले गर्न लागेको ज्ञवालीको आरोप थियो ।

बैठकमा गरिएको निर्णयबारे बोल्दै उनले थपे, ‘ सरकारले गरेको राम्रो काम र पार्टीका विचार लिएर जनताको बीचमा जाने निर्णय भएको छ । लोकतन्त्र, राष्ट्रियता र सामाजिक आर्थिक रुपान्तरण समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्ने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन अध्यक्षले निर्देशन दिनुभएको छ । ’

कमिटीको अर्को बैठक ९ गते दिउँसो एक बजे बस्ने तय भएको उनले बताए । अर्को बैठक निर्वाचन केन्द्रित हुने कुरामा तय भएको ज्ञवालीले जानकारी दिए ।

‘महासचिव र माइन्युट विना बैठक हुन्छ ?’

प्रवक्ताकाे जिम्मेवारी पाएका ज्ञवालीले अर्को प्रचण्ड–माधव पक्षले बसेको बैठक आधिकारिक रुपमा मान्य नहुने बताए । पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना बैठक नहुने उनको जिकिर थियो ।

‘पार्टीको अध्यक्ष, महासचिव, माइन्युट विना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णय वैधानिकता हुने कुरा पनि भएन । पार्टीको मौजुदा विधानले महासचिवले सूचना जारी गर्नुपर्छ भन्छ। महासचिवले बैठकको एजेण्डा र सूचना तया गर्नुपर्छ,’ उनले भने ।

एकल अध्यक्षको निर्णयलाई मान्यता दिन मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँलाई त बोलाएकै हो । किन आउनु भएन थाहा भएन ।’ यद्यपि, पार्टीमा ओली पहिलो अध्यक्षको हैसियतमा भएको हुँदा पहिलो अध्यक्ष र महासचिवसहितको बैठक मान्य हुने उनले बताए ।

लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिन्न

विघटन भएको संसद नब्युँतने र सबै दल निर्वाचनको तयारीमा भित्रभित्रै जुटेको प्रवक्ता ज्ञवालीको आशय थियो । उनले भने, ‘कुनै पनि लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिन्न । निर्वाचनका लागि तयारी भित्रभित्रै गर्न थालिसकेका छन् ।’

कुराकानीका क्रममा सरकारले यो बीचमा गरेका कामहरूबाट आफूहरू सन्तुष्ट रहेको ज्ञवालीले बताए । हामीले केही समयअघि मात्र एकैसाथ ३९६ वटा पालिकामा न्यूनतम ५ देखि १५ शय्या अस्पतालको शिलान्यास गर्‍यौं। यो काम विगतमा कुनै सरकारले गरेका थिएनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर