बादल फकाउने प्रचण्डको प्रयास आज पनि असफल – Nepal Press

बादल फकाउने प्रचण्डको प्रयास आज पनि असफल

काठमाडौं । नेकपा विभाजनको तयारी भइरहेका बेला यसबीचमा तटस्थ रहेका नेताहरुले आफ्नो कित्ता प्रष्ट पार्दै गर्दा सचिवालय सदस्य रामवहादुर थापा बादलले भने अझै पनि कुनै पक्षमा लाग्ने निर्णय गर्न सकेका छैनन् । बादललाई फकाउन अध्यक्ष प्रचण्ड आज बिहान पनि मन्त्रीनिवास पुल्चोक पुगेका थिए । तर बादलले प्रचण्ड–माधव समूहमा लाग्ने निर्णय गरी नसकेको उनीनिकट स्रोतले जनाएको छ ।

नेकपामा ओली र प्रचण्ड–माधव समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाइरहँदा गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने आन्तरिक छलफल तथा परामर्शमा व्यस्त छन् । मंगलबार बिहान आफूनिकट नेताहरुसँग छलफल गर्दै बादलले ‘अझै पर्ख र हेर’को स्थिति रहेको बताएको छलफलमा सहभागी एक नेताले बताए ।

प्रचण्ड–नेपाल समूहमा जाने हल्ला बढेसँगै बादलले आन्तरिक छलफल बढाएका हुन् । छलफलमा सहभागी एक नेताले भने, ‘छलफल जारी छ, कता लाग्ने टुंगो भएको छैन ।’ उनका अनुसार बादल समूह ओलीतिरै लाग्ने सम्भावना बढी छ ।

ती नेताले भने–आफ्नो समूहका अधिकांश सदस्य प्रचण्डतिर लागिसकेका छन् । तर बादल अहिलेसम्म निर्णय नलिनु भनेको उनी ओलीतिरै रहने संकेत हो । यो अवस्थामा पनि मन्त्री पदमा रहिरहेपछि उनी ओलीसँगै रहेको पुष्टि हुन्छ । टोपवहादुर र मणी थापाहरु ओलीतिर लाग्नुले बादलको भावी कदम बुझ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर