सबै चलखेल देश बाहिरबाट भइरहेको छ:  पूर्वसभामुख महरा – Nepal Press

सबै चलखेल देश बाहिरबाट भइरहेको छ:  पूर्वसभामुख महरा

घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको हात भएको बताएका छन् । ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भने, ‘देशभन्दा बाहिर-धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’

महराले आफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेकोसमेत बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै महराले कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताएका हुन् ।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्त्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।’

उनले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणासमेत व्यक्त गरे ।

अहिले नेकपा विभाजित भइनसके पनि विभाजनको संघारमा पुगेको उनले बताए । ‘हामी केही समयमा विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन,’ उनले भने।

छलफल र बहसलाई तुषको रूपमा नभएर स्वच्छ रूपमा अगाडि लैजानुपर्ने महराको भनाई थियो । उनले अहिलेको अवस्थामा प्रतिकृयावादीहरूको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्ने धारणा व्यक्त गरे।

यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सच्चा कम्युनिष्टहरू एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर