रोनाल्डोको २ गोलमा युभेन्टसको सहज जित, बायर्न बुन्डेसलिगाको शीर्षमा – Nepal Press

रोनाल्डोको २ गोलमा युभेन्टसको सहज जित, बायर्न बुन्डेसलिगाको शीर्षमा

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २गोल गरेको खेलमा इटलियन च्याम्पियन युभेन्टसले पार्मामाथि ४–० गोलको सहज जित हासिल गरेको छ ।

१३ खेलसम्म आफ्नो अविजित यात्रालाई कायम राख्ने क्रममा युभेन्टसका कुलुसेभास्कीले २३ औं मिनेटमा गोल गरी सुरुआती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै रोनाल्डोले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता भयो ।

दोस्रो हाफको सुरुमै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा खेलको अन्त्यतिर अल्भारो मोराटाले ४–० को जित निश्चित गरे । जितपछि २७ अंकसहित युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एसी मिलान २८ र इन्टर मिलान २७ अंकसहित शीर्ष र दोस्रो स्थानमा छन् ।

यता जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले बायर लिभरकसेनमाथि २–१ गोलको पुनरागमन जित निकाल्दा यसै साता फिफा वेष्ट पुरुष खेलाडी चुनिएका रोवर्ट लेवान्डोस्कीले दुवै गोल गरे ।

१४ औं मिनेटमै प्याट्रिक चिकको गोलमार्फत अग्रता बनाएको लिभरकसेनले पहिलो हाफमै बराबरी गोल खायो । ४३ औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा जोसुवा किमिचको पासलाई पदुपयोग गरी लेवान्डोस्कीले निर्णायक गोलमात्र गरेनन् टिमलाई शीर्ष स्थानमा पनि पुर्‍याए ।

खेलअघि १ अंकको दूरीका साथ दोस्रो स्थानमा रहेको बायर्न जितपछि शीर्ष स्थानमा २ अंकको अग्रता बनाउन सफल रहेको छ । समान १३ खेलबाट बायर्नको ३० र लिभरकसेनको २८ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *