‘म्याराथन’ भेटघाटले पनि मेटाएन दुरी – Nepal Press

‘म्याराथन’ भेटघाटले पनि मेटाएन दुरी

काठमाडौं – राजनीतिक भेटवार्ताका लागि सितिमिति अरुका निजी निवास नछिर्ने प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अचानक खुमलटार गए । प्रधानमन्त्री भएयता पहिलो पटक ओली कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ निवास जानुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको गाम्भीर्यतालाई संकेत गर्छ।

ओली खुमलटार छिरेपछि ‘म्याराथन’ शैलीमा नेकपा नेताहरुबीच भेटघाट भए । ओली-प्रचण्डबीच भेटघाट चलिरहेकै बेला उपाध्यक्ष बामदेव गौतम प्रवेश गरे ।

खुमलटारमा करिब डेढ घण्टा बिताएर ओली सिधै नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निवास पुल्चोक गए । प्रोटोकलअनुसार समेत अस्वभाविक लाग्ने गरि प्रधानमन्त्री गृह मन्त्रीको निवास प्रवेश गरेपछि यसले झन् धेरैमा कौतुहलता जगायो ।

ओली–बादलबीचको छलफलमा अन्य चार मन्त्री समेत सहभागि भएपछि छलफल ‘क्याबिनेट बैठक’ झैं प्रतित हुन्थ्यो । छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे पनि सहभागि भएका थिए।

ओली खुमलटारबाट बाहिरिए लगत्तै वरिष्ठ नेता माधव नेपाल खुमलटार प्रवेश गरेका थिए । ओलीको धेरैपछिको आगमनले खुमलटारको अनुहार उज्यालिएको थियो । आफ्नो स्वाथ्य संवेदनशिता र प्रोटोकललाई समेत मतलव नगरि स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा ओलीले देखाएको सक्रियताको अर्थ के होला ?

नेकपाका एकजना स्थायी कमिटी सदस्य यसका यसका तीन अर्थ भएको बताउँछन् । प्रचण्ड र आफूबीचमै लेनदेन गरेर विवाद सुल्टाउने प्रयास, पार्टी विभाजन गर्नुहुन्न भन्ने ठूलो मत पार्टी भित्रै रहेका बेला आफू पनि त्यसकै पक्षमा रहेको देखाउनु र प्रचण्ड समूहका बादललाई सकेसम्म आफ्नो पक्षमा तान्ने नभए तटस्थ राख्न कोसिस ।

दिनभरीका राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति शीतलनिवास पुगे। दिनभरीका बाक्ला भेटघाटका बाबजुद नेताहरुबीचका मतान्तर हल गर्ने विषयमा भने खासै प्रगति भएको देखिएको छैन् । प्रचण्डसँगको भेटमा ओलीले आफूमाथि लगाइएको अभियोग पत्र फिर्ता लिन आग्रह गरेका थिए र त्यसलाई प्रचण्डले अस्वीकार गरेका थिए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीचको छलफलमा पनि विवादका पुरानै विषयमा छलफल भएको र कुनै सहमति नभएको बताए ।

उनले प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गरेको र प्रचण्डले त्यसलाई अस्वीकार गरेको प्रतिक्रिया संचारमाध्यमहरुलाई दिएका छन् । अर्का नेता माधव नेपालले अभियोग पत्र फिर्ता लिने विषयमा सहमति नगर्न सुझाएको बुझिएको छ । बादलसँगको भेटमा भने ओलीले आफूलाई सहयोग गरेर पार्टी भित्रको विवाद मिलाउन योगदान गर्न आग्रह गरेका थिए ।

दिनभरका सघन भेटघाटपछि पनि नेकपा भित्रको विवाद मत्थरमा खासै प्रगति नभएको देखिएको छ । तत्कालै उपलब्धी हात नलागे पनि छलफल बाक्लिनु सकारात्मक भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् ।

‘पार्टीमा उत्पन्न समस्या समाधान गर्न अध्यक्षद्धयका साथै नेताहरूबीच निरन्तर छलफल हुनु सुखद् कुरा हो,’ उनको भनाइ छ, ‘विषयवस्तुमा मतान्तर भए पनि नेताहरूबीच निरन्तर रूपमा हुने सम्वादले नै त्यसलाई साँघुरो बनाउँछ ।

सकभर विषयवस्तुमा सहमति र त्यो सम्भव नभएको अवस्थामा प्रक्रियामा सहमति गर्दै पार्टी एकताको भावना र विधानको व्यवस्था अनुरूप समस्या समाधान गर्नुबाहेक पार्टीलाई गोलचक्करबाट मुक्त गर्ने अर्को उपाय छैन ।’

विवाद समाधनका लागि केही दिनको अन्तरमा राखिएको स्थायी कमिटी बैठक आइतबार बस्दै छ । यसबीच नेकपा अध्यक्षले सार्वजनिक गरेका पत्र फिर्ता गर्न दोस्रो तहका नेताहरु लागे पनि त्यसले मुर्त रुप लिन सकेन ।

कुनै ठूलै राजनीतिक परिवर्तन नभए आइतबारको बैठकअघि पनि कुनै समझदारी बन्ने देखिएको छैन् ।

यस्तो अवस्थामा के होला ? अर्का स्थायी कमिटी सदस्य आइतबारको बैठक पनि पहिले बैठक झैं विनाकुनै निष्कर्ष सकिने र पुनः अर्को बैठक तोकिने बताउँछन् । ‘यो कुनै नौलो विषय होइन,’ उनी भन्छन्, ‘फेरि अर्को बैठक बोलाइन्छ र विवाद थाती रहिराख्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर