कोरोनाविरुद्धको खोप : कस्तो छ सरकारले चाहेको मापदण्ड ? – Nepal Press

कोरोनाविरुद्धको खोप : कस्तो छ सरकारले चाहेको मापदण्ड ?

विश्वमा कोभिडबिरुद्धका दुई खोप उपलब्ध भैसकेका छन्। फाइजर र बायो–एनटेकको खोपलाई अमेरिकी सरकारले अनुमति दिएको छ।प्राथमिकतामा परेकालाई खोप दिन थालिएको छ ।

तर, नेपालमा कोभिडबिरुद्धको खोप कहिले आउला भन्ने सबैको चिन्ता र चासोको बिषय बनेको छ ।खोप व्यबस्थापन महाशाखाका प्रमुख डा. झलक गौतमका अनुसार नेपालले माइनस २ देखि ८ डिग्रीसम्म भण्डारण गर्न मिल्ने खोपलाई पहिलो प्राथमिकता दिने छ ।

गौतम भन्छन् ‘हामीले सकेसम्म माइनस २ देखी ८ डिग्रीमा भण्डारण गर्न मिल्ने खोपलाई प्राथमिकता दिन्छौं, यदि यस्तो भएन भने माइनस २० डिग्रीसम्म भण्डारण गर्न मिल्ने खोप ल्याउँछौं’ ।

उनका अनुसार खोप ल्याउने तयारी लगभग अन्तिम चरणमा छ । अबको एक महिनाभित्र कुन खोप नेपाल भित्राउने भन्ने निर्णय हुन्छ ।
सकेसम्म सस्तो र कम तापक्रममा भण्डारण गर्न मिल्ने खोप नेपालको प्राथमिकतामा पर्ने डा. गौतम बताउँछन् ।खोप ल्याउनको लागि सरकारले ४९ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।

२० प्रतिशत जनसंख्यालाई पुग्ने खोप विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स कार्यक्रम अन्तर्गत सहयोगमा आउने तयारी छ । बाँकी सरकारले खरिद गर्नुपर्ने हुन्छ ।सरकारले गठन गरेको कोभिड–१९ खोपबारेको विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार सरकारले खोप ल्याउने तयारीलाई प्राथमिकतामा राखेर काम भैरहेको छ । अहिलेसम्म आएका खोपमध्ये मोडर्ना र अक्सफोर्डको खोप नेपालको लागि भण्डारणको हिसाबले सहज देखिएको छ ।

खोप उत्पादन भइरहेका देशका सरकारसँग कुराकानी भैरहेको छ । तर, कहिलेसम्म नेपालमा खोप आइपुग्छ भन्न सकिदैँन ।
नेपालमा अहिले सम्म प्रयोगमा आएका बिभिन्न रोगका खोपको भण्डारण २ देखी ८ डिग्री तापक्रममा भैरहेको छ । तर, २० डिग्री तापक्रमसम्म भण्डारण गर्न मिल्ने भौतिक पूर्वाधार छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप भित्राउनको लागि देखिएको चुनौति भनेको खोपको भण्डारण र मूल्य हो । माइनस ७० डिग्रीसम्म तापक्रममा भण्डारण गर्नुपर्ने फाइजरजस्ता खोपले अनुमति पाउनु र एक डोजको मूल्य नै १० हजारसम्म पर्ने भएपछि सरकारले खोप तत्काल भित्राउन नसक्ने हो कि भन्ने शंका उब्जिएको छ ।

भण्डारणको हिसाबले फाइजरको खोप नेपाल आउने सम्भावना कम छ । मोडर्नाको खोप ६ महिनासम्म माइनस २० डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।मोर्डनाको खोपलाई २८ दिनको अवधिमा २ डोज दिनुपर्ने हुन्छ ।मूल्यको हिसाबले मोडर्नाको खोप पनि नेपाल आउने सम्भावना न्यून छ ।

यिनै दुई कम्पनीले अमेरिकी सरकारबाट मान्याता पाएका छन् । अक्सफोर्डको एस्ट्राजेन्काको खोपले अझै प्रमाणीकरणको काम सकेको छैन । त्यसकारण अन्य कुनै सस्तो र कम तापक्रममा भण्डारण गर्न मिल्ने खोपले अनुमति नपाएसम्म तत्काल नेपालमा कोरोनाविरुद्धको खोप सरकारले खरिद गर्न नसक्ने कतिपय विज्ञको दाबी छ । कोभ्याक्स अन्तर्गत सहयोगमा आउने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भने छिट्टै उपलब्ध हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर