प्रचण्ड भेट्न खुमलटार जाँदै ओली – Nepal Press

प्रचण्ड भेट्न खुमलटार जाँदै ओली

काठमाडौं । पार्टी भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्री भएयता खुमलटारमै गएर ओलीले प्रचण्ड भेट्न लागेको यो पहिलो भेटघाट हो ।

प्रचण्डको निजी सचिवालयका अनुसार नेकपा नेता सुवास नेम्वाङले प्रधानमन्त्रीसहित आफूहरु त्यहाँ आउन लागेको जानकारी दिएका हुन् ।

‘कतिबेला आउने भन्ने ठ्याक्कै जानकारी आएको छैन्,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘तर, आउँदै छौं भनेर उहाँहरुले यहाँको सुरक्षा संयन्त्रलाई जानकारी गराउनु भएको रहेछ।’

प्रचण्ड–नेपाल पक्षले शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा अध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिएको थियो ।

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश र प्रचण्ड–नेपाल समूहले संसद बोलाउन शीतल निवासमा बोलाएको हस्ताक्षर फिर्ता गर्ने निर्णय भएको थियो।

दुवै पक्षले स्थायी कमिटी बैठकको निर्णय नमानेको जस्तो देखिएको बेला ओली पहिलोपटक खुमलटारमा गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाको स्थायी कमिटीको बैठक भोलि बोलाइएको छ । उक्त बैठकमा पार्टीमा देखिएका विवाद हल गर्ने गरी निर्णय हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर