पिलीमा पीडा दिने युद्धको घाउः ‘वार ट्रेल’ बन्ने दाउ – Nepal Press
पिलीमा पीडा दिने युद्धको घाउः  ‘वार ट्रेल’ बन्ने दाउ
फोटोकथा
२०७७ पुष ४ गते १०:०८
२०७७ पुष ४ गते १०:०८

सुर्खेत । २०५९ सालताका नै कर्णालीका विकट जिल्लामा सडक निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनाले लिएको थियो । नेपाली सेनाले सडक निर्माण कार्यदल नै निर्माण गरेर जसरी पनि कर्णालीका विकट जिल्लामा सडक निर्माण गर्ने अठोट लिई स्थानीय जनसमुदायसँग सहकार्य गर्दै सडक निर्माणलाई तीव्रता दियो ।

दैलेखको आठबिस नगरपालिका वडा नं.३ साइगाउँदेखि नै सडक निर्माणमा नेपाली सेनाको कार्यदल जुटेको थियो । आठबिस नगरपालिका–४ का गोकर्ण माझी सम्झन्छन्, ‘उतिबेला कसैलाई पनि लागेको थिएन, यहाँ गाडी गुड्छ ।’

मेरा बुबाले म सानो हुँदा एक दिन राकम कर्णाली भएर जुम्लासम्म गाडीमा जान पाइनेछ भनेर रेडियोले समाचार फुक्दा पत्याउनु नै भएको थिएन । उहाँ हाँस्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, मुश्किलले चिसापानीसम्म गाडी आइहाल्छ कि ?

त्यस्तो शंका गर्नु जायज नै थियो । उतिबेला हामी कुनै सामान ल्याउनु परे हाटबजार भनेर कैलालीको अत्तरिया जाने गर्दथ्र्यौं । त्यसपछि चिसापानी हुँदै कर्णाली राजमार्गको तल्लो डुंगेश्वर, रामागाड, टुनिबगर हुँदै हाम्रै राकम कर्णालीमै बसेर नुनदेखि सुनसम्म किन्न पाइने अवस्था आयो ।

माझी स्मरण गर्छन्, ‘शाही नेपाली सेनाको कार्यदलले स्थानीय सबैलाई काममा लगाएको थियो । उतिबेला सडकमा डोजर प्रयोग गरिएन । ठूला चट्टान भएको स्थानमा कार्यदल आफैंले ब्लाष्टिङ गथ्र्यो । अन्य स्थानमा स्थानीयले रोजगारी पाउँथे ।’

पिलीमा भिडियो डकुमेन्ट्री बनाउने, पर्यटकलाई बढीभन्दा बढी समय बिताउन बाध्य पार्ने खालका संरचना निर्माण गर्न सके युद्ध इतिहासलाई ज्यूँदो राख्न सकिन्थ्यो ।

गाउँमा सशस्त्र माओवादीको युद्ध चरमोत्कर्षमा पुग्दैथियो । हाल नेकपा जिल्ला कमिटी दैलेखका सदस्य समेत रहेका माझी भन्छन्, ‘सडक निर्माण कार्यदलले तत्कालीन माओवादीसँग पनि सहकार्य गरेको खबर हामीले सुन्ने गरेका थियौं । उतिबेला सडक निर्माणका क्रममा माओवादीले निर्माण कार्यदल र स्थानीय नागरिकलाई सास्ती नै दिएन ।

दैलेखदेखि मान्मसम्मको सडक खनिरहँदा माओवादीले अवरोध नै गरेनन् भन्दा हुन्छ । देशैभरि द्वन्द्व चर्किरहेको, राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएको त्यो अवस्थामा गाउँमै सडक आउने र त्यसले यहाँका नागरिकको रोग, भोक र शोक अन्त्य गर्ने ठूलो अपेक्षा लिएर स्थानीय हजारौं युवाहरू सडक निर्माणमा अहोरात्र खटिरहेका थिए ।’

तर त्यो निर्माण टोली खाँडाचक्र नगरपालिकाको पिलीमा बसिरहेको समयमा त्यहाँ ठूलो लडाइँ भएको आवाजले हामीलाई समेत थर्कमान बनायो । सडक निर्माण कार्यदलमाथि आक्रमण हुँदा अब सडक निर्माण हुँदैन कि भन्ने लाग्यो ।

 

कसरी भयो पिली आक्रमण

२०६२ साउन २३ गतेको दिन । देशमा राजतन्त्र ढाल्न कस्सिएको माओवादीले पिलीमा रहेको शाही नेपाली सेनाको सडक निर्माण कार्यदलमाथि हमला गर्यो । त्यतिबेला नेपालमा पूर्व माओवादीका सात वटा डिभिजन थिए । सात वटामध्ये तीनवटा डिभिजनले यहाँको लडाइँमा भाग लिए । लडाइँमा प्रत्यक्ष लडेका पूर्व लडाकु विनोद चौंलागाई स्मरण गर्छन्, सातौं, छैटौं र चौथो डिभिजन लडाइँमा सहभागी भएको थियो । सातौं डिभिजनको नेतृत्व अहिले कर्णालीका मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले गरेका थिए । उहाँको टोली अहिलेको महावै गाउँपालिकाको गेला, पान्तडी र सेरा हुँदै यहाँ आएको थियो ।

उनी भन्छन्, अनि अहिलेका नेकपा कर्णाली इन्चार्ज एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को टिम पचालझरना गाउँपालिकाको चुली हुँदै पाखा भएर पिलीको माथिबाट यहाँ झरेको हो । सबै टिमले त्यतिबेला रूखका पात, हाँगा र बोक्रा शरीरभरि बेरेर आएका थिए । सातौं र छैटौं डिभिजन तल बसेको थियो भने पाँचौं डिभिजन पिली भन्दा माथिको गाउँमा बसेको थियो । हामी सबै चार बजे नै त्यहाँ पुगेका थियौं ।

उनका अनुसार साँझ ६ बजेदेखि राति एक बजेसम्म त्यहाँ भीषण लडाइँ चलेको थियो । तीनैतिरबाट लालसेनाले घेरा हालेका थियौं । सातौं र छैटौं डिभिजनले तलबाट र पाँचौं डिभिजनले माथिबाट एक्कासी आक्रमण गरेका थियौं । उतिबेला शाही नेपाली सेनातर्फ ६८ जनाको मृत्यु भएको थियो भने ६० जनाभन्दा बढी सेनालाई कब्जामा लिइएको थियो । हामीतर्फ सातौं डिभिजनका २३ जनाको मृत्यु भएको थियो ।

उतिबेला यहाँ सडक थिएन । सडक भएको स्थान देखाउँदै विनोद भन्छन्, ‘त्यहाँ सेनाको चेकपोस्ट थियो । यहाँ माथि सेनाका बंकरहरू थिए । घरहरू बनेका थिए ।’

कसरी बनाइयो युद्ध पर्यटकीय क्षेत्र ?

२०७२ सालमा गाविस सचिव शरद बडुवाल भारतको भ्रमणमा गएका बेला बम आक्रमण भएको भारतीय कंग्रेसको बैठक स्थललाई ‘युद्ध पर्यटकीय क्षेत्र’ बनाइएको देखे । त्यहाँको स्थलगत अध्ययन गरेर फर्किएका सचिव बडुवालले यहाँ पनि त्यस्तै पर्यटकीय क्षेत्र निर्माण गरौं न त भनेर प्रस्ताव राख्नुभएको हो । चौंलागाई भन्छन्, ‘त्यतिबेलाका सबै राजनीतिक दलका प्रतिनिधि बसेर यसलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेका हौं । त्यो समयमा म यहाँको माओवादी गाउँ कमिटीको अध्यक्षको रूपमा कार्यरत थिएँ ।’

खाँडाचक्र नगरपालिका वडा नं. ५ का अध्यक्ष खडानन्द चौंलागाई उतिबेलाको त्यो लडाइँले विकासमा ठूलो धक्का पुर्याउने हो कि भन्ने भय पिलीका नागरिकमा रहेको स्मरण गर्छन् । लडाइँ भएपछि यहाँका नागरिक तीन दिनसम्म घरबाट बाहिर निस्केनन् । सेनाले पनि जसलाई भेट्टायो त्यसैलाई गोली हान्ने गरेको थियो । उनी भन्छन्, ‘तर त्यसको नौ महिनापछि नेपालमा राजतन्त्र हट्यो । लडाइँ सकिएपछि हामीले राहतको सास फेर्न पायौं ।’ हप्ता दिनपछि पनि स्थानीयहरूले त्यहाँ रहेका घाइतेहरूको उद्धार गरेको उनले स्मरण गरे ।

अहिले पूर्व माओवादी तथा शाही नेपाली सेना जो लडाइँमा परेर ज्यान गुमाएका थिए उनीहरूका आफन्त यहाँ आउने गरेका छन् । छोराको सम्झनामा यहाँ आउने, दीप प्रज्वलन गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने काम निरन्तर भइरहेका छन् । विनोद भन्छन्, ‘युद्धको बारेमा थेसिस लेख्नेहरूको पनि ठूलो जमात यहाँ आइसकेको छ ।’

अहिले प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले त्यहाँ केही संरचना निर्माण गरेको छ । सिंढी बनाएको छ भने शहीद स्मृति भवनको निर्माण गरेको छ । यसका लागि एक करोड रुपैयाँ सरकारले खर्चिसकेको छ ।

लडाइँमा घाइते भएका विनोद भन्छन्, ‘अब सरकारले यहाँ रहेका बंकरहरूको सुरक्षा र हेरचाह गर्ने व्यवस्था गरोस् । अहिले पनि बंकरभित्र गोलीका खोकाहरू देख्न सकिन्छ । यहाँ मारिएका सबैको सालिक निर्माण गर्न सकेको खण्डमा यसले साँच्चिकै यस क्षेत्रको कायापलट हुन्थ्यो ।’
प्रदेश सरकारले यस क्षेत्रलाई घेराबारा गर्ने र कम्तीमा दुई चार जना कर्मचारी राख्न सक्ने हो भने युद्ध–इतिहास जोगिन्थ्यो । उनी थप्छन्, ‘यसका अलावा यहाँ भिडियो डकुमेन्ट्री बनाउने, पर्यटकलाई बढीभन्दा बढी समय बिताउन बाध्य पार्ने खालका संरचना निर्माण गर्न सके इतिहासलाई ज्यूँदो राख्न सकिन्थ्यो ।’