किसानको धान किन्न आनाकानी, व्यापारीलाई खुल्लमखुला ! – Nepal Press
जहाँ पनि किसानमाथि नै अन्याय

किसानको धान किन्न आनाकानी, व्यापारीलाई खुल्लमखुला !

जनकपुरधाम । कार्यालयको मूलद्वारमा ताला झुण्डिएको छ । धान बेच्न पुगेका किसानका टायरगाडा बाहिरै छन्, भित्र छिर्नै दिइएको छैन । ट्याक्टर लिएर पुगेकाहरूको धान धमाधम खरीद गरिंदैछ ।

यो दृश्य हो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामको । यहाँका कर्मचारीले किसानसँग धान खरीद गर्नै मानेका छैन तर व्यापारीसँग दिनमा मात्र होइन, राति पनि खरीद गरिरहेको पाइएको छ ।

सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २७३५ र मध्यम धानको २८८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ । व्यापारी भने सरकारले तोकेको समर्थन मूल्यमा धान किन्न तयार देखिंदैनन् । २३०० देखि बढीमा २५०० मै व्यापारीले धान खरीद गर्छन् । यसै कारण किसानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बेच्न पुग्छन् ।

तर कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाएर व्यापारीलाई नै धान बिक्री गर्न बाध्य पारेको किसानहरूको आरोप छ । अहिले कार्यालयले सोना मन्सुली (मध्यम) धान मात्र खरीद गरिरहेको छ ।

लक्ष्मीनियाँ गाउँपालिका–१ का किसान छेबु यादव भन्छन्, ‘किसान कहिलेकाहीं आउँछन् । तर कहिले न तौलने त कहिले के बहाना बनाएर परेसान गर्छन् । व्यापारीको धान भने रातिमा पनि खरीद गर्ने गरिएको छ ।’

यादव थप्छन्, ‘व्यापारीहरूले मात्र १८०० देखि १९०० मा धान किन्छन् र यहाँ आएर बेच्छन् । तर किसानका लागि लालपुर्जा अनिवार्य गरेको छ । लालपुर्जा लिएर नआएका किसानको धान नै खरीद गर्दैनन् ।’

उनी बिहीबार नै धान बेच्न कार्यालय आएको बताउँछन् । तर कार्यालयले बिहीबार उनको धान खरीद गरेन, कर्मचारीले शुक्रबार आउनुस् भनेर फर्काए । शुक्रबार पुगेर करीब चार घण्टा कार्यालयमा बसेपछि बल्ल उनको धान खरीद गर्र्यो‍‍ ।

५/१० मिनेटमा हुने कामका लागि कर्मचारीले दुई÷तीन दिन कार्यालय धाउन बाध्य पार्ने गरेको उनले सुनाए ।

लक्ष्मीनियाँकै अर्का किसान विशेश्वर साहको पीडा पनि उस्तै छ । उनले भने, ‘लालपुर्जा लिएर आएपछि मात्र धान किन्छन् भन्ने मलाई थाहा भएन । म त्यतिकै कार्यालय आएँ । तर धान खरीद गर्न नमानेपछि फेरि घर पुगेर लालपुर्जा लिएर आएँ । अनि मात्र धान बेचें ।’

‘धेरै यस्ता गरीब किसान छन्, जो मालिकको खेत अधियाँमा कमाउँछन् वा ठेक्का लिएर धान उब्जाउँछन् । उनीहरू कहाँबाट लालपुर्जा लिएर आउँछन् ?’ उनको प्रश्न छ, ‘के गरीब किसानले यहाँ धान बेच्नै नपाउने ? यो लालपुर्जा अनिवार्यको नियम गलत छ ।’

कामदार अभावले समस्या

कार्यालयमा अहिले मात्र १४ ज्यालादारी मजदूर छन् । कार्यालय मातहत मिल समेत रहेकाले उनीहरू पहिल्यैदेखि त्यहाँ काम गर्छन् । हाल धान खरीद गर्न थप मजदूर राखेका छैनन् ।

मिलमा काम गर्ने मजदूर नै धान खरीद गर्न खटिएका छन् । उनीहरूले ४० किलोको प्रति बोरा धान अनलोड गरी तौलेर गोदाममा राखेबापत ७ रुपैयाँ २० पैसा पाउँछन् ।

कार्यालयका वरिष्ठ सहायक जयनन्दन पाण्डे भन्छन्, ‘नयाँ मजदूर राख्न समस्या हुन्छ । त्यसैले राखेको छैन । मिलमा काम गर्ने १४ मजदूरलाई नै धान खरीद गर्ने कार्यमा खटाउँदै आएका छौं ।’

टोकन प्रणालीले किसानलाई हैरानी

धेरै भीड हुन थालेपछि कार्यालयले सूचना प्रकाशित गरी धान खरीद गर्न टोकन प्रणाली लागू गरेको छ । जसका कारण किसानलाई हैरानी भएको छ । अब धान बेच्न किसानले दुई दिन कार्यालय धाउनुपर्ने हुन्छ ।

कार्यालयले जारी गरेको सूचनामा सोना मन्सुली धान बिक्री गर्ने किसानहरूको अत्यधिक चाप बढ्न गई जोख–तौल गर्नुका साथै कार्यालयको काम समयमा सम्पन्न गर्न समेत कठिनाइ भएकाले टोकन प्रणाली लागू गरेको उल्लेख छ ।

वरिष्ठ सहायक पाण्डेका अनुसार धान बेच्ने किसानले शुक्रबारका दिन टोकन लिनुपर्ने हुन्छ । त्यसपछि टोकनमा धान खरीद गर्ने मिति तोकिने र सो मितिमा आएपछि मात्र कार्यालयले खरीद गर्छ ।

मजदूर नथपिने तर समस्या भएको बहाना बनाएर एक दिनमा हुने कामका लागि दुई दिन कार्यालय धाउन बाध्य बनाएको टोकन प्रणाली ठीक नभएको किसानहरू बताउँछन् । टोकन प्रणाली खारेज गर्न र किसानको धान सहज रूपमा किन्ने वातावरण बनाउन किसानहरूको माग छ ।

व्यापारीको धान हो भनेर कसरी बुझ्ने ?

कार्यालयले व्यापारीको धान रातिमा पनि खरीद गर्ने गरेको भनेर किसानले लगाउने गरेको आरोपमा सत्यता नभएको वरिष्ठ सहायक पाण्डेले दाबी गरेका छन् ।

‘व्यापारी आएको कुरा कसरी थाहा पाउने ?’ उनले भने, ‘यहाँ जो आएका छन्, सबैको धान किनेकै छौं । को व्यापारी, को किसान मलाई थाहा भएन ।’ साइकल वा टायर गाडामा धान लिएर आउने किसानलाई पहिलो प्राथमिकता दिएर खरीद गर्ने गरेको उनको दाबी छ ।

किसानबाट २० हजार क्विन्टल धान किन्ने लक्ष्य रहेको र मंसीर मसान्तसम्म ५ हजार क्विन्टल धान खरीद गरिसकेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर