सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने


काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेशी नियमित रोलक्रमअनुसार चढेपनि आज हेर्न नभ्याइने भनेर पन्छाइएको छ ।
सापकोटाको मुद्दाको पेशी गत वैशाखदेखि नै रोलक्रममा थियो । रोलक्रम अनुसार नै शुक्रबार संवैधानिक इजलासमा परेपनि हेर्न नभ्याइने भनेर पछि सारिएको छ । रोलक्रमअनुसार पेशीमा पर्नु संयोगमात्र भएपनि नेकपाको एउटा पक्षले यसलाई आशंकाका दृष्टिले हेरेको थियो ।
काभ्रेपलाञ्चोकका अर्जुन लामाको अपरहणपछि हत्या गरेको घटना तत्कालीन विद्रोही माओवादीका नेता अग्नि सापकोटाको प्रत्यक्ष निर्देशनमा भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले किटानी जाहेरी दिएकी थिइन् । सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सापकोटा मन्त्री भएपछि कनकमणि दीक्षित, सुशील प्याकुरेल र पूर्णिमाया लामा पुनः २०६८ सालमा सर्वोच्च अदालतमा गएका थिए ।
मुद्दा संवैधानिक इजलासमा रहेकै बेला सापकोटा सभामुख निर्वाचित भएपछि नैतिकताका आधारमा प्याकुरेलले गतवर्ष राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । प्याकुरेलले जघन्य हत्यामा संलग्न सापकोटाको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला सभामुख जस्तो संवैधानिक पदमा लैजान नहुने बताएका थिए ।
तत्कालीन माओवादी पक्षले भने द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी कानूनबाट छिनोफानो हुनुपर्ने भन्दै आएको छ ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।