अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध – Nepal Press

अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

काठमाडौं । नेकपामा केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षबीचको विवाद पार्टी बिभाजनको दिशामा अघि बढिरहेका बेला म्याग्दी पुगेका अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको कार्यक्रममा संयोजक ऐन महर पक्षधर विद्यार्थीले अवरोध गरेका छन् ।

अखिलका स्थानीय नेता याम पौडेलको निधनमा श्रद्धान्जली दिन गएका तामाङले आज विहान बेनीस्थित याक होटलमा कार्यक्रम आयोजना गर्न लागेका थिए ।

स्थानीय कार्यकर्ताले संगठनको झण्डा प्रयोग गरेर गुटको कार्यक्रम गर्न लागेको भन्दै अवरोध गरेका छन् ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले स्थानीय कमिटीलाई जानकारी नदिई गुटको भेला गर्न खोजेपछि विद्यार्थीले विरोध गरेको बताए । अवरोध र होहल्लापछि प्रहरीले तामाङलाई त्यहाँबाट सुरक्षा दिएर बाहिर लगेको थियो ।

तामाङ पक्षले भने जिल्लाका पार्टी नेताहरु सहित पत्रकार सम्मेलन गर्न लागेका बेला अर्को पक्षले अवरोध गरेको जनाएको छ । जिल्ला कमिटीले विहिवारै पौडेलको निधनमा श्रद्धान्जली सभा आयोजना गरेको थियो ।

जिल्ला अध्यक्ष विश्वकर्माले भने संगठनको सहसंयोजक आउँदा कमिटीलाई जानकारी नदिई पूर्व माओवादी पक्षको भेला गर्नु शोभनीय नभएको बताए ।

तामाङले भने विवाद भए पनि अवरोध चाहिँ नभएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर