कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै – Nepal Press

कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

‘गुटमा नलाग्ने कांग्रेसलाई बाँच्नै गार्हो’

काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् ।

नेपाली कांग्रेसमा झट्ट हेर्दा दुई गुट देखिन्छन् । अलिक चासो दियो भने तीन वटा गुट त प्रष्टै देखिन्छन् । कांग्रेसको आन्तरिक राजनीतिको सबै पाटो केलाएर हेर्ने हो भने चैं कांग्रेसभित्र दर्जन गुट छन् । ती गुटहरू आफू अनुकूल पार्टी हाँक्न वा पार्टीबाट प्राप्त हुने स्वार्थ हासिल गर्न वर्षौंदेखि सक्रिय छन् ।

कांग्रेस वृत्तमा कांग्रेस भन्नु नै ‘गुटहरूको महासंघ’ हो भन्ने उक्ति चर्चामा छ । आजको सग्लो कांग्रेसको स्थापना नै दुई अलग पार्टीको एकताबाट भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय नै थिए । वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव होस् वा वीपी र सुवर्ण शमशेरबीचको आन्तरिक संघर्ष, ती सबै कांग्रेसको तत्कालीन गुटहरूको प्रभाव थिए । पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

२०४८ सालको निर्वाचनमा कांग्रेस सभापति भट्टराई पराजित भएपछि प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई प्राप्त भयो । प्रधानमन्त्री बने पनि पार्टीभित्र आफ्नो प्रभाव भट्टराईको भन्दा कम रहेको बुझेपछि सत्ताकै सहयोगमा कोइरालाले गुट विस्तार गरे । ७५ मध्येका ६६ जिल्ला सभापति भट्टराईको पक्षमा रहेकाले पार्टीभित्र समेत पकड बनाउने उद्देश्य राखेर कोइरालाले २०४९ सालमै स्थानीय निर्वाचन गराए । काठमाडौं महानगरपालिका बाहेक देशका अधिकांश प्रभावशाली नगर र गाउँमा कोइरालाले आफूनिकटलाई टिकट दिन सफल भए । यही कारण कोइराला गुट कांग्रेसमा बलियो बन्दै गयो ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आधार मान्ने हो भने कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका मुख्य तीन वटा गुट क्रियाशील छन् । सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

निरन्तरको आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको मूल नेतृत्वमा स्थापित पनि भए । पार्टी सभापति भए पनि देउवा नेतृत्वको गुट कांग्रेसमा अहिले सबैभन्दा ठूलो र प्रभावकारी छ । १३औं महाधिवेशनयता देउवाको गुटमा नेताहरूको संख्या बढ्दै पनि गएको छ तर आसन्न महाधिवेशनमा देउवाको गुट ‘एकढिक्का’ रहने सम्भावना ज्यादै न्यून छ । देउवा नेतृत्वको गुटभित्र उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको आ–आफ्नै उपगुट रहेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पनि छुट्टै उपगुट रहेको छ । खड्काको गुटमा स्वर्गीय खुमबहादुर खड्काको ‘लिगेसी’ जोडिएका नेताहरू सक्रिय छन् । सह–महामन्त्री डा. प्रकाशशरण महत र नेता बालकृष्ण खाँडको नेतृत्वमा पनि उपगुट सक्रिय रहेका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता एनपी साउद पनि देउवा गुटभित्रका प्रभावशाली नेता हुन् । देउवा समूहभित्र पनि उनको आफ्नै शक्ति छ ।

१३औं महाधिवेशनमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गुटको नेतृत्व गरेको लामो अनुभव छैन । २०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका पौडेल अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि मात्रै गुटको हर्ताकर्ता बनेका हुन् । पौडेलको गुटमा पार्टी पदाधिकारी भइसकेका भेट्रान नेताहरूको उपस्थिति त छ तर ती सबैका आ–आफ्नै उपगुट छन् । यसर्थमा पौडेल नेतृत्वको गुट पनि आफैंमा उपगुटहरूको मोर्चा जस्तो देखिन्छ । जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन् ।

हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

१३औं महाधिवेशनबाट कांग्रेसमा बनेको नयाँ गुटको नेतृत्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्छन् । पार्टीको आन्तरिक राजनीतिमा लामो समय कोइराला परिवारको निकट रहेर काम गरेका सिटौला आफूलाई ‘गिरिजाबाबु र सुशील दा’ को उत्तराधिकारी भन्न रुचाउँछन् । संसदीय दलको निर्वाचन र पार्टीका अन्य निर्णयहरूमा अभिव्यक्त मत र रुझानको विश्लेषण गर्ने हो भने सिटौलाको नेतृत्वमा गुट त छ तर गुटभित्रका नेताहरूको रुचि अन्य गुटमा बढी छ । जस्तो कि संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसद गगन थापाले प्रकाशमान सिंहलाई मत दिए तर सोही गुटका उमाकान्त चौधरी र भीमसेनदास प्रधानले शेरबहादुर देउवालाई मत दिए । केन्द्रीय सदस्यहरू कोही सभापति देउवासँग अति निकट छन् भने कोही वरिष्ठ नेता पौडेलसँग । यसर्थ सिटौला नेतृत्वको गुटभित्र पनि उपगुटहरूको प्रभाव छ । त्यहाँ गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन् ।

हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

१३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्व महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ । गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन् ।

कांग्रेसमा रहेका यी गुटहरूको मुख्य भूमिका पार्टीभित्र आफ्नो ‘दुनो सोझ्याउनु’ हो । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको बुझाइमा कांग्रेसमा विचारको नभई ‘बार्गेनिङ’ को गुट छ । ‘कुनै खास विचार र योजनाका लागि मन मिल्नेहरूबीच सहकार्य भएको भए गुट राम्रो हुन्थ्यो । आफ्नो स्वार्थ पूरा गर्न र बार्गेनिङ गर्नका लागि कांग्रेसका गुटहरू सक्रिय देखिन्छन्’, आङदेम्बेले भने ।

केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेसका परम्परागत गुटहरू भत्काउनुको विकल्प नरहेको बताउँछन् । ‘जीवन्त पार्टीमा समूहहरू हुने कुरा स्वाभाविक हो तर कांग्रेसमा जुन परम्परागत गुटबन्दी छ यसले पार्टीको हित गरिरहेको छैन । त्यसैले पुराना गुटहरू भत्काउन प्रयास गर्नुपर्छ’, पौडेलले भने ।

गुटको आलोचना गर्ने नेताहरू स्वयं भने कुनै न कुनै गुटमा लागेकै देखिन्छन् । केन्द्रीय सदस्य आङदेम्बे पार्टीभित्र गुटमा नहुनेले बाँच्नै नसक्ने स्थिति बनाइएकोले यस्तो अवस्था आएको दाबी गर्छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा कांग्रेसमा गुटहरूको प्रभाव स्थापनाकालदेखि नै छ । कांग्रेसका गुटले समग्र पार्टीभन्दा पार्टीभित्रको निश्चित समूहलाई लाभ हुने गरेको छ । ‘गुटका कारण धेरै नेताले अवसर पाएका छन् । गुटप्रतिको प्रतिबद्धता नै कांग्रेसीको योग्यता भइसक्यो’, आचार्यले भने । कांग्रेसमा गुट उपगुटहरूको प्रभाव फैलँदो क्रममा रहेको छ । जसले आसन्न महाधिवेशनलाई बढी प्रभावित पार्ने देखिन्छ ।

निर्विरोध रहेनन् देउवा

सभापति शेरबहादुर देउवा इतर समूहबाट जति आलोचित भए पनि आफ्नो गुटभित्र निर्विरोध रहँदै आएका थिए । तर यसपटक भने आफ्नै गुटभित्र देउवा निर्विरोध छैनन् । राजनीतिको लामो यात्रामा देउवाको सारथि रहेका उपसभापति विमलेन्द्र निधि आफैं सभापति लड्ने तयारीमा छन् । सभापतिमा दोहोरिने देउवाको इच्छा हुँदाहुँदै निधिले पनि दाबी गर्नुले देउवालाई समस्यामा पारेको छ । सभापतिको उम्मेदवारीसँगै कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका निधिले आफ्नो छुट्टै गुट मात्रै निर्माण गरेका छैनन् त्यसलाई एकताबद्ध राख्न प्रयास पनि गरिरहेका छन् ।

आफ्नैको पेलानमा पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन् । तर आफ्नै गुटभित्रका नेताहरू मिलाउन पौडेललाई हम्मे–हम्मे परेको छ । प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा.शेखर कोइराला आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा सबैले पौडेललाई सघाएका भए पनि यतिबेला पौडेल आफ्नैको पेलानमा परेका छन् । सभापति देउवा आलोचित हुँदा आफूले राजनीतिक लाभ लिउँला भन्ने सोचेका पौडेल आफ्नै गुट सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

सिटौला कसको सारथि ?

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आफूलाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको राजनीतिक सारथि भन्न रुचाउँछन् । अघिल्लो महाधिवेशनमा कसैको सारथि नबनी आफैं सभापतिको दावेदार बनेका सिटौलाले यसपटक के गर्लान् ? कांग्रेसवृत्तमा चासो बढेको छ । सिटौला गुटभित्र रहेका नेताहरू गगन थापा र प्रदीप पौडेल देउवासँग मिल्न नहुने पक्षमा छन् भने उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई र भीमसेनदास प्रधान देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा सिटौलालाई आफ्नो गुट एकढिक्का राख्न चुनौती थपिएको छ ।

गच्छदार र थापाले के गर्लान् ?

कांग्रेस उपसभापति विजयकुमार गच्छदारको राजनीतिक सक्रियता पछिल्लो समय घटेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘डामे’ पछि गच्छदार तनावमा छन् । तर तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकता गराएबापत प्राप्त शक्ति गच्छदारसँग छ । केन्द्रीय समितिमा गच्छदारबाहेक उनीनिकट ११ जना सदस्य र ६ जना आमन्त्रित सदस्य रहेका छन् । गच्छदारबाहेक हालै राप्रपाबाट आएका सहमहामन्त्री सुनीलबहादुर थापाको समूह पनि अहिले सभापति देउवा निकट नै छ । आसन्न महाधिवेशनमा कता लाग्ने भन्नेबारे थापा नेतृत्वको समूहले तय गरिसकेको छैन ।

‘कांग्रेसमा गुट होइन बार्गेनिङ समूह धेरै भए’
भीष्मराज आङदेम्बे , संयोजक, केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस

नेपाली कांग्रेस त गुटहरूको महासंघ भइसक्यो भन्छन् नि ?

जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् त्यसमा आश्चर्य मान्नुपर्दैन । गुट भएपछि उपगुटहरू हुन्छन् त्यो पनि नौलो भएन । तर गुटहरू संस्थागत रूपमै मौलाउन थालेकाले यसले पार्टीलाई सिध्याउँदैछ । कांग्रेसको आकार खुम्चनुको पहिलो कारण नै गुट–उपगुट हो । निश्चित कामका लागि विचार मिल्नेहरूबीच गुट बनेको भए धेरै राम्रो हुन्थ्यो । तर कांग्रेसमा नेताको बुइँ चढेर अवसर हत्याउनकै लागि गुट बनाउने र गुटमा लाग्ने काम भयो । यसले गर्दा कांग्रेसभित्र विचार र संगठनभन्दा गुट निर्णायक हुन थाल्यो । त्यसले कांग्रेस गुटहरूको महासंघ बन्यो भन्नुभन्दा पनि गुटका कारण कांग्रेस अधोगतितर्फ लाग्यो भन्ने लाग्छ ।

महाधिवेशन नजिकिंदै जाँदा त गुट बन्ने, भत्कने, फेरबदल हुने भइरहेको छ नि, यसले पार्टीलाई कत्तिको असर गर्ला ?

गुट भनेको जहिले पनि स्वार्थहरूको समूह हो । यो कहिल्यै पनि दीर्घजीवी हुँदैन । विचारका लागि बनेका एकथरी गुट हुन्छन् । कांग्रेसमा त्यस्ता गुटहरू बनेका छैनन् । आफ्नो अस्तित्व जोगाउन र आफ्ना मान्छेलाई अवसर दिन कांग्रेसका गुटहरू बनेका हुन् । महाधिवेशन आइरहेकोले अवसरको खोजीमा नेता कार्यकर्ताहरूले उपयुक्त गुट छान्न यताउता हुने कुरा स्वाभाविक छ । महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले गुट चलाउने प्रयास गर्नुभएको छ । महाधिवेशनमा कम्तीमा दोस्रो पुस्ताले गुटभन्दा माथि उठेर भूमिका खेल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरूले चाहेमा गुट रोकिन सक्छ । गुटले मात्रै पार्टीलाई फाइदा गर्दैन, प्रतिस्पर्धाका लागि समूह बन्ने कुराले पार्टीलाई हानि गर्दैन । मुख्य कुरा लोकतान्त्रिक संस्कार र हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । बार्गेनिङका लागि मात्रै गुट चलाउनेहरूलाई महाधिवेशनले पाठ सिकाउनुपर्छ ।

गुटले अनुशासनमा चैं कत्तिको असर पारेको छ त ?

कांग्रेसका तल्लो तहका कार्यकर्तामा गुटभन्दा पार्टी बलियो भए हुन्थ्यो भन्ने छ । तर कांग्रेसमा जति ठूला नेता छन् उत्ति धेरै गुटलाई प्राथमिकता दिएका छन् । नेताले नै गुटबन्दीलाई वडासम्म लैजान चाहेका छन् । अनुशासन समितिमा रहेर काम गरेको अनुभवमा गुटकै कारण अनुशासनको घेरा तोड्ने काम भएको छ । एउटा गुटकोले टिकट पाए अर्को गुटले नसघाउने प्रवृत्ति छ । गुटको असर नेतालाई भन्दा कार्यकर्तालाई नै बढी परेको छ । जुन दिन आम कार्यकर्ताले यो यथार्थ बुझ्छन् त्यही दिन गुटको झण्डा बोक्नेलाई कार्यकर्ताले लखेट्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर