बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापना हुँदै – Nepal Press

बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापना हुँदै

रासस । बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै सुरु हुने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

‘प्रतिवेदन आएपछि बोलपत्र गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुंगो लाग्छ, सबैभन्दा पहिला सडक निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, फिल्ड कटिङको काम हुनेछ,’ मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले भने ।

बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनाका कामलाई अब ढिलाइ नगरिने नगरप्रमुख नायकको भनाइ छ । नगरपालिकाको वडा नम्बर १, ३, ५ र ६ सीमाक्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो ।

संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष नै ९२ लाख रुपैयाँ पठाइसकेको छ । औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुङ्गा, तामालगायतका खानी रहेका छन् ।

यीबाहेक, नेपाली कागज बनाउने लोक्ता, बाँस निगालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायतको बहुमूल्य उत्पादन रहेका छन् ।

मेलौलीमा औद्योगिक ग्राम स्थापना भएपछि स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *