अचानक मिल्नुअघि यस्तो थियो ओली–प्रचण्ड सवाल जवाफ – Nepal Press

अचानक मिल्नुअघि यस्तो थियो ओली–प्रचण्ड सवाल जवाफ

काठमाडौं । ‘तपाईंले सरकारलाई सहयोग गर्नुभएन मात्रै होइन, आफ्ना मान्छेलाई भनेकै जसरी सेटल गर्न नसकिएपछि माधव नेपालहरुसँग मोर्चाबन्दी गर्नुभएको हैन ? त्यसपछि घेराबन्दी गर्न थाल्नुभएको होइन ? तपाईंकै तिकडमवाजीले आज यो अध्यादेश ल्याउनुपर्नेसम्मको परिस्थिति सिर्जना भयो ।’

बुधवार बालुवाटारमा भएको कुराकानीको शुरुमै प्रधानमन्त्री यसरी आक्रामक ढंगमा पेश हुँदा प्रचण्ड भने केही नरम देखिन्थे । पार्टी फुट्ने  चरणमा रहेकोले पुस १ गते साँच्चै नेकपाभित्र प्रसवको दिन बन्यो ।

दुई अध्यक्षको संवाद जस्ताको त्यस्तै सुनाउँदै नेपाल प्रेससँग एक नेताले भने– अब दुई अध्यक्षबीचमै समझदारी गरेर जाने र संयुक्त प्रस्ताव बैठकमा लैजाने कुरा भयो ।

ओलीले प्रचण्डसँग गुनासो गरेपछि प्रचण्डले पनि कडिकडाउ नै जवाफ दिएको ती नेताले बताए ।

ओलीसँग प्रचण्डले आफ्ना कुरा राख्दै भने– तपाईंले जति जे भने पनि अध्यादेश गलत मात्रै हैन, प्रतिगमनकारी पनि छ । तपाईं न पार्टीको लगाममा बस्न चाहनुभयो, न संसदकै । तपाईं यो शैलीले आफैं पतनतिर लाग्दै हुनुहुन्छ । देश, पार्टी र जनता त तपाईंका निम्ति केही भएनन्, तर तपाईंकै भलाइका निम्ति पनि अध्यादेश फिर्ता लिनुस् । अध्यादेश फिर्ताबाहेक अर्को कुनै विधि, वचन र बोली तपाईंबाट सुन्न चाहन्नँ ।

पार्टीभित्रैबाट आफूलाई अप्ठेरोमा पार्न सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोकिएपछि प्रधानमन्त्रीले एक कदम अघि बढेर अध्यादेश ल्याएका थिए । प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन बाध्य पार्न प्रचण्ड माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन माग गर्दै सांसदको हस्ताक्षर बोकेर शीतलनिवासमा निवेदन लगेका थिए ।

बुधबार दिउँसो बालुवाटार छलफलमा संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुषाल, शंकर पोखरेलसहित दुई अध्यक्षबीच छलफल चलेको थियो । दुवै अध्यक्षलाई आ आफ्ना आरोप–प्रत्यारोप र अध्यादेश तथा संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर फिर्ता लिई बैठकमा बस्नका लागि घनश्याम भुसाल र सुवास नेम्वाङको विशेष भूमिका थियो ।

संसद अधिवेशन माग गर्ने समावेदन लिएर शीतलनिवास जानेमा पूर्वमाओवादीको प्रतिनिधि चयनमा प्रचण्डको चातुर्यलाई योजनाबद्ध मानिएको छ । उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि आफूसँगै भएको सन्देश दिन त्यही समूहकी पम्फा भुसाललाई चयन गरेको नेकपा स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर