संसदको विशेष अधिवेशन माग्दै प्रचण्ड–माधव नेपाल पक्ष शीतल निवासमा – Nepal Press
नेकपा फुटको अभ्यास

संसदको विशेष अधिवेशन माग्दै प्रचण्ड–माधव नेपाल पक्ष शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध संकलित हस्ताक्षरलाई नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रयोग गरेको छ । केही महिनाअघिनै नेकपाका दुवै पक्षले आफ्नो पक्षमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षर गराएका थिए ।

प्रमुख विपक्षी दलभन्दा एक कदम अघि बढेर नेकपाकै अर्को पक्षले विशेष अधिवेशन बोलाउन माग गरेपछि पार्टी बिभाजनको नजिक पुगेको प्रष्ट भएको छ । विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सूचना बालुवाटारले यसअघिनै पाइसकेको थियो ।

प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर ‘वार कि पार’को लडाइँ लड्न खोजेको बुझेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने देखेर प्रचण्ड पक्षले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष निवेदन दिन खोजेको हो ।

राष्ट्रपति कार्यालयका सचिव बिदामा रहेकाले हस्ताक्षर बुझाउन नपाइएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य भिम रावल लगायतका नेता हस्ताक्षर र निवेदन लिएर शीतल निवास पुगे पनि निवेदन दर्ता भएको छैन ।

संविधानअनुसार प्रतिनिधिसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेर हस्ताक्षर सहितको निवेदन दिएपछि राष्ट्रपतिले संसद अधिवेशन बोलाउनुपर्छ । तर कति दिनभित्र बोलाउने भन्ने छैन ।

यसैबीच आफू पक्षधर सचिवालय सदस्यहरुसँग अलग्गै छलफल गरेपछि कार्यकारी अध्यक्ष प्रचण्ड पुनः पहिलो अध्यक्ष अ‍ोलीलाई भेट्न गएका छन् । दुई अध्यक्षबीचको भेटमा महासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओली फेरि पनि बैठकमा सहभागी नभए आफ्नो अध्यक्षतामा बैठक सन्चालन गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गराउने प्रचण्ड पक्षको तयारी छ ।


प्रतिक्रिया

One thought on “संसदको विशेष अधिवेशन माग्दै प्रचण्ड–माधव नेपाल पक्ष शीतल निवासमा

  1. ओली फेरि पनि बैठकमा सहभागी नभए आफ्नो अध्यक्षतामा बैठक सन्चालन गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गराउने प्रचण्ड पक्षको तयारी छ ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर