पाँच महिनामा २१ अर्ब विदेशी लगानी भित्रियो, कुन देशबाट कति ? – Nepal Press

पाँच महिनामा २१ अर्ब विदेशी लगानी भित्रियो, कुन देशबाट कति ?

काठमाडौं । नेपालका उद्योग तथा कलकारखानामा सबैभन्दा धेरै विदेशी लगानी चीनबाट भित्रिएको छ ।

विगतमा झैं यो वर्ष पनि चीनले नेपालमा सबैभन्दा बढी उद्योग तथा कलकारखानाहरूमा लगानी भित्र्याएको हो । यो पाँच महिनामा चीन लगायत ७ ओटा देशबाट लगानी भित्रिएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार आव २०७७/७८ को पाँच महिनामा नेपालका उद्योग तथा कारखानाहरूमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत आव २०७६/७७ मा २२६ कम्पनीमा ३८ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको थियो ।

विश्वभर फैलिएको कोरोनाको महामारीले नेपाली उद्योग तथा कारखानाहरूमा लगानीमा कमी नआएको बताउँछन् उद्योग विभागका प्रवक्ता विनोदकुमार खड्का ।

‘कोरोनाको मारमा उद्योगधन्दा बन्द भइरहेको अवस्थामा पनि विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छैन’, उनले भने ।

चीनले मात्र यो पाँच महिनामा ९८ ओटा कम्पनीमार्फत १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी नेपाल भित्र्याएको छ । प्रतिबद्धता अनुसार यी उद्योग कलकारखानाले २ हजार ९६० जनालाई रोजगार दिनेछ ।

यसैगरी भारतबाट यो पाँच महिनामा विगत वर्षको तुलनामा ज्यादै थोरै लगानी भित्रिएको छ । भारतबाट तीन ओटा प्रोजेक्टका लागि तीन करोड रुपैयाँ मात्र लगानी भित्रिएको छ । त्यसैगरी ब्रिटिश भर्जिन इंग्ल्याण्डबाट तीन अर्ब रुपैयाँ बराबरको लगानी आएको छ ।

बेल्जियमबाट ५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ । त्यसैगरी, मलेसियाबाट ५ करोड ३० लाख रुपैयाँ, मेक्सिकोबाट १५ करोड र युकेबाट १० करोड रुपैयाँ बराबरको लगानी भित्रिएको हो ।

सबैभन्दा धेरै लगानी टुरिजम क्षेत्रमा आएको छ । पाँच महिनामा आएका १०८ उद्योग कलकारखानामा टुरिजममा मात्र ६८ ओटा कम्पनी आएका छन् । जसमा १४ अर्ब रुपैयाँ बराबरको लगानी गरिनेछ ।

यसैगरी, सेवा क्षेत्रमा पाँच अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको छ । जसमा ३१ कम्पनी आउँदैछन् । त्यस्तै, एग्रो र फरेष्ट्री, इन्फरमेशन एण्ड टेक्नोलोजी र म्यानुफ्याक्चरिङमा पनि लगानी भित्रिएको हो । यो लगानी भित्रिएसँगै ३ हजार ३८३ जनाले रोजगारी प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *