विश्वविद्यालयमा उमेरको हदबन्दी हुनुहुँदैनः उपकुलपति सिंह – Nepal Press

विश्वविद्यालयमा उमेरको हदबन्दी हुनुहुँदैनः उपकुलपति सिंह

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयमा अध्यापन गर्ने उपप्राध्यापक तथा सहप्राध्यापक नियुक्तिका उमेरको हदबन्दी लगाउन नहुने बताएका छन् ।

काठमाडौंमा विश्वबिद्यालयकोे १० औं सिनेटपछि मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यसका लागि पचास वर्ष उमेर तोकिएको जानकारी दिए । ‘विश्वविद्यालयमा जागिर खान र पेन्सन खानका लागि प्राध्यापक आउने होइन । यहाँ आउनुको कारण ज्ञान बाँड्नु हो,’ उपकुलपति सिंहले भने ।

कतिपय देशमा ७८ वर्षका व्यक्तिले पनि अध्यापन गराइरहेका भन्दै र नेपालका ६० वर्ष भन्दा माथिका प्राध्यापकले पनि विश्वका विभिन्न विश्वविद्यालयमा ज्ञान, अनुभव बाँडिरहेको उदाहरण दिए ।

काठमाडौंमा सिनेटको आयोजना गर्नुको कारण प्रष्ट पार्दै उपकुलपति सिंहले अन्य विश्वविद्यालयले पनि काठमाडौंमा नै सिनेटको आयोजना गरेको, राजनीतिक वातावरण पृथक भएका कारण सुर्खेतमा नगरिएको बताए ।

उपकुलपति सिंहले विश्वविद्यालयको सम्पत्तिको सुरक्षा गर्नका लागि पूर्व सैनिक तथा प्रहरीबाट भर्ना लिने गरी आफ्नै सुरक्षा दस्ता गठन गर्ने निर्णय गरिएको बताए । ‘विश्वविद्यालयमा गाँजा खाने, हुलहुज्जत गर्ने, गैर विद्यार्थी आउने, तोडफोड, आगजनी गर्ने कार्यहरु भइरहेका छन्, त्यसको निरुपण गर्नका लागि हामी आफ्नै सुरक्षा दस्ता गठन गर्छौं यो नेपालमा पहिलो हो । भारतका विभिन्न विश्वविद्यालयले यो अभ्यास गरिरहेका छन्,’ उनले भने ।

उनले आगामी दिनमा विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी सिर्जना गर्नका लागि ६० प्रतिशत प्रयोगात्मक तथा ४० प्रतिशत सैद्धान्तिक ज्ञान प्रणालीको पाठ्यक्रम तयार गर्ने नीति लिएको बताए । त्यसो गर्दा कर्णालीको आवश्यकता अनुसार तयार हुने उनको भनाई थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर