नेकपा बैठक बालुवाटार कि धुम्बाराही ? एसएमएस पर्खँदैछन् नेता – Nepal Press

नेकपा बैठक बालुवाटार कि धुम्बाराही ? एसएमएस पर्खँदैछन् नेता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज प्रचण्ड-माधव नेपाल पक्षले संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजीको प्रस्ताव राख्ने तयारी गरेको छ । यसबारेमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बैठकमै उपस्थित भएर जवाफ दिनुपर्ने स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

नेकपा विवाद सचिवालयले टुंगो लगाउन नसकेपछि स्थायी कमिटी बैठक बोलाइएको छ । तर प्रचण्डको आरोपपत्र खारेज नभएसम्म बैठकमा सहभागी नहुने भनेर पत्र पठाएका अध्यक्ष ओली पछिल्लो बैठकमा भने उपस्थित थिए । सो बैठकले कमानसिंह लामाप्रति श्रद्धान्जली बाहेक अरु छलफल गरेन ।

आज निर्धारित बैठक कहाँ बस्ने भन्ने अहिलेसम्म जानकारी नआएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । यसअघि बालुवाटारमै तोकिएको भएपनि पछिल्लो घटनाक्रमपछि बैठक बस्ने नबस्ने वा स्थानको टुंगो छैन ।

बैठकका बारेमाा दुई अध्यक्षबीच संवाद समेत नभएकाले स्थायी कमिटी सदस्यहरु बैठकस्थलको एसएमएस पर्खेर बसेका छन् । बैठक अपरान्ह १ बजे बस्ने भनिएको छ । बैठकमा प्रधानमन्त्री सहभागी हुने अवस्थामा बालुवाटारमै बस्ने नत्र पार्टी कार्यालयमा हुने नेकपा स्रोतले जनाएको छ ।

पार्टी विवाद अब वार कि पारको चरणमा गएको बेला नेकपा स्थायी कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । कमिटीमा प्रचण्ड माधव नेपाल पक्षको बहुमत छ । तर नेकपामा एकीकरणनै टुंगि नसकेको हुनाले महाधिवेशनअघि अल्पमत बहुमतबाट निर्णय गर्ने बैधानिकता नरहेको ओली पक्षको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर