सभामुखले ‘बहिष्कार’ गरेको बैठकमा ओली र देउवाबीच घोचपेच – Nepal Press
संवैधानिक परिषद्

सभामुखले ‘बहिष्कार’ गरेको बैठकमा ओली र देउवाबीच घोचपेच

देउवाले भने–अधिनायकवादी मैले होइन प्रचण्ड माधव नेपालले भनेका हुन्

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण औपचारिक रुपमा संवैधानिक परिषद् बैठक बस्न नसके पनि अन्य सदस्यहरुको अनौपचारिक छलफल भने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारजनाको अनौपचारिक बैठकमा सापकोटाको अनुपस्थितिको राजनीतिक विश्लेषणसमेत भएको एक सदस्यले बताए ।

अनौपचारिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवाबीच घोचपेच समेत चल्यो । प्रधानमन्त्री ओलीले कांग्रेसको सोमबारको देशव्यापी प्रदर्शनलाई लिएर देउवालाई व्यंग्य गरे ।

‘शेरवहादुरजीलाई पनि गाह्रै छ, संविधानअनुसार मात्र चलेको यस्तो सरकारलाई पनि अधिनायकवादी भनेर सडकमा जानुपरेको छ’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

लगत्तै देउवाले पनि अ‍ोलीलाई सोही शैलीमा जवाफ फर्काउँदै भने, ‘मैले अधिनायकवादी भनेको होइन क्या । प्रचण्ड र माधव नेपालले भनेको ।’ देउवाले संवैधानिक परिषद् बैठकमा सापकोटाको अनुपस्थितिलाई पनि सोही प्रसंगमा जोडेका थिए ।

नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्रीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद् बैठकलाई सभामुख अग्निप्रसाद सापकोटाले ‘बहिष्कार’ गर्नु संयोग मात्र थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद निर्णायक अवस्थामा पुगेका बेला परिषद् बैठक बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्षले सभामुखलाई रोकेको हो ।

सभामुखले सोमवार साँझनै फोनमार्फत प्रधानमन्त्रीलाई आफू बैठकमा आउन नसक्ने जानकारी दिएका थिए । संवैधानिक नियुक्तिहरुमा एकलौटी गर्न लागेको र देउवासँग भागबण्डा गरेर प्रधानमन्त्रीले आफूहरुलाई हेप्न खोजेको निष्कर्ष प्रचण्ड–माधव नेपाल पक्षको छ ।

सापकोटा बैठकमा जाँदा कोरम पुग्ने र सबै ठाउँमा नियुक्ति सिफारिस गरिने भएपछि उनलाई रोक्दा बैठक बस्न नसक्ने स्थिति भएकाले प्रचण्डले नै सभामुखलाई बैठकमा नजान भनेको स्रोतले जनाएको छ ।

परिषद् बैठक बस्नका लागि प्रधानमन्त्रीबाहेक चारजना सदस्य उपस्थित हुनुपर्छ । तर उपसभामुख पद खाली रहेको र सभामुखले बहिष्कार गरेको अवस्थामा प्रधान न्यायाधीश, विपक्षी दलका नेता र राष्ट्रियसभा अध्यक्ष मात्र रहेकाले बैठक औपचारिक रुपमा बस्न सकेन ।

परिषद् बैठक आजै साँझ ५ बजेका लागि फेरि बोलाइएको छ । बैठकमा सभामुखको सहभागीता भने अनिश्चिित नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर