कसराको प्रजनन केन्द्रमा हुर्किएका गोही राप्तीमा छाडिए – Nepal Press

कसराको प्रजनन केन्द्रमा हुर्किएका गोही राप्तीमा छाडिए

रासस । चितवन राष्ट्रिय निकुञ्जको कसरा गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही राप्ती नदीमा छाडिएको छ । हरेक वर्ष यो समय नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको जानकारी दिए ।

निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छाडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले जानकारी दिए। गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्ष प्रजनन केन्द्रमा विताएपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।

सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर बर्सेनि गोही मर्ने गरेका छन् । नदी प्रदूषित हुँदा गोहीलाई आहाराको अभाव र फोहरपानीका कारण यसको सङ्ख्या वृद्धिमा बाधा पर्ने गरेको उहाँको भनाइ छ । नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहर नदीमा मिसिदा नदीमा जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोस्टिम) बिग्रिँदा गोही बचाउन कठिन भएको बरालले गुनासो गरे । मनोमानी ढङ्गले नदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नाले पनि गोहीको बासस्थानमा खलल ल्याएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर